विकास र समृद्धिमार्फत आर्थिक बिकासको दिशामा लाग्नुपर्छ : नेता नेपाल



पुष्कर बुढाथोकी,भक्तपुर,(नेस) ।

नेपाल कम्युनिष्ट पार्टीका वरिष्ट नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको समष्टिगत बिकास आजको आवश्यकता भएको बताउँदै अब विकास र समृद्धिमार्फत आर्थिक बिकासको दिशामा लाग्नुपर्ने बताउनुभएको छ ।

भक्तपुरको सरस्वती खेलमा आज बिहान आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता नेपालले बेरोजगारी अन्त्यका लागि आर्थिक विकासमा प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

वरिष्ठ नेता नेपालले अबको एकमात्र बाटो बेरोजगारी अन्त्य भएको बताउँदै अब सिंगो राष्ट्रको ध्यान आर्थिक क्रान्तिमा केन्द्रित हुनुपर्ने आवश्यकता रहेको औल्याउनुभयो ।भावी पुस्तालाई समृद्ध र विकसित नेपाल हस्तान्तरण गर्नुपर्ने बताउँदै उहाँले सरकारले विकासका लागि अघि सारेको अभियान सकारात्मक रहेको बताउनुभयो।

नेपालमा विकासका अनेक संभावना रहेको बताउँदै उहाँले राज्यका तीनै तहका सरकार समन्वय र सहकार्यका साथ समाबेशी र समतामुलक बिकासमा लाग्नुपर्ने उल्लेख गर्नुभयो ।

भक्तपुर क्षेत्रनम्बर १ (क)मा आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा नेकपा उम्मेदवार डीपी ढकाललाई विजयी गराउन पनि उहाँले मतदातासँग आग्रह गर्नुभयो ।

कार्यक्रममा उम्मेदवार डिपी ढकालसँगै नेता नेपाल, सांसद महेश बस्नेत, प्रदेश सांसद शशी जंग थापा, नेकपाका इन्चार्ज दिलिप प्रजापति, सहइन्चार्ज तथा चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रलगायतका नेकपाका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

नेपाल उम्मेदवार देवीप्रसाद ढकाल ( डिपी) लाई जिताउन मतदाताको घरघर पुग्नुभएको छ । नेकपाले आजबाट शुरु गरेको घरदैलो कार्यक्रममा नेकपाका प्रभावशाली नेता नेपाल आफै मतदातामाझ पुग्नुभएको हो ।

नेता नेपालले जनताको घरदैलोमा पुगी जनता सामु देशलाई समृद्ध बनाउन नेकपाका उम्मेदवारले खेल्ने भूमिका महत्वपूर्ण हुने र विकासका प्रतिवद्धता समेत मतदातामाझ गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्