कृति परिचर्चा एवं सिर्जना प्रवाह कार्यक्रम सम्पन्न



न्युज अफ नेपाल,काठमाडौं ।

बिहिवार क्रिएटिभ लीटररी फोरम डिपार्टमेन्ट अफ इङ्लीस लीटरेचरको आयोजनामा कवि ध्रुवकुमार सापकोटाको कवितासंग्रह ‘समीकरण जिन्दगीको’ परिचर्चा एवं सिर्जना प्रवाह कार्यक्रम सम्पन्न भएको छ ।

वरिष्ठ नाटककार, कवि अशेष मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा कवि, कथाकार एवं समालोचक महेश पौड्यालले स्वागत मन्तव्य राख्नुभयो ।

अनुवादक एवं कवि केशव सिग्देल र कवि प्रोलास सिन्धुलीयले कविता कृतिमाथि आफ्नो धारणा राख्नुभयो । कार्यक्रममा समीकरण जिन्दगीको कवितासंग्रहबाट कविता वाचन भएको थियो भने १२ जनाले आ–आफ्नो सिर्जना समेत वाचन गरेका थिए ।

कार्यक्रममा बोल्दै सिग्देल र सिन्धुलीयले सापकोटाको कविता समसामयीक विषय, सबैले बुझ्ने सरल भाषामा लेखिएको बताउनुभयो । सिग्देलले केहि कविताहरुले समाजमा अहिले उठेको सोचलाई समेटेको बताउनुभयो ।

समाजमा रहेको विकृति, विसंगती र असन्तुष्टी कविता मार्फत आएको भन्दै कविलाई बधाई दिनुभयो । सिन्धुलीय भन्नुहुन्छ, “विदेशमा बसेर नेपाललाई गाली गर्ने प्रवृति धेरैमा छ ।

नेपालमा हुँदा वास्ता नहुने बाहिर गएपछि आमाको आँसुको नाममा कविता लेख्ने कविहरु प्रसस्तै भेटिन्छन् । नेपालमा केही गर्न नसकेर बाहिर जाने र बाहिर गएपछि नेपालको रोइला गाउने प्रवृत्ति सापकोटाको कवितासंग्रहभित्र छैन ।”

उनी थप्छन्, “भाषामा भने कविले कत्ति पनि ध्यान दिएका छैनन् । कवितामा कुनै नयाँ विषयवस्तु छैन । धेरै जसो कविका कृतिहरुमा कुनै न कुनै समस्या हुन्छ । हाम्रो कविता पनि कसैले हेर्दा कमजोरी निकाल्न सक्छन् ।”

कार्यक्रमका प्रमुख अतिथ अशेष मल्लले त्रिभुवन विश्वविद्यालयमा पढ्दा दिनका संघर्ष बताउनु भयो । लोकतन्त्रको खोजी गर्दा कसरी मण्डलेहरुले खेदो गर्थे,नाटक गर्दा कुटाइ समेत खानु परेको भन्दै भावुक हुनुभयो ।

नेपाली चित्रकला होस् या साहित्य विश्वका प्रसिद्ध कला साहित्यभन्दा बढी सुन्दर र महतवपूर्ण छन् तर यसलाई विश्वस्तरसम्म लैजान पहल नभएको कुरा बताउनु भयो । कार्यक्रमकी सभाध्यक्ष कवि अमृता स्मृति धन्यवाद ज्ञापन सहित कार्यक्रम समापन गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्