नेपाली खेलाडीको चुनौती समाप्त



नेपाल समाचारपत्र, काठमाडौं।

काठमाडौंमा जारी योनेक्स सनराइज नेपाल अन्तर्राष्ट्रिय च्यालन्ज २०१९ मा दोस्रो दिन निरासजनक प्रदर्शनसँगै नेपाली खेलाडीको चुनौती समाप्त भएको छ।
पहिलो दिन जित निकालेर नेपाली दर्शकलाई खुसीयाली दिएका दिपेश धामी, विष्णु कटुवाल र नवीन श्रेष्ठले बिहीबार पराजय बेहोरेका हुन्।

योसँगै नेपाली खेलाडीको आशा पनि समाप्त भएको हो। दिपेशले भियतनामका खेलाडी साव सुङ फामसँग पहिलो सेट २१–१३ ले हारेर पनि दोस्रो सेट २१–१७ ले जितेका थिए।

उनले निर्णायक सेटमा भने विपक्षीसामु बलियो चुनौती पेस गर्न नसक्दा २१–४ ले नै सेट र खेल पनि गुमाएका थिए।विष्णु भने कोरियाका यू जिन सोनसँग २३–२१, २१–१७ को सोझो सेटमा पराजित भएका हुन्।

पहिलो सेट निकै प्रतिस्पर्धा भएको थियो। तर सेट हार्नाबितिकै विष्णु दोस्रो सेटमा कमजोर बनेका थिए। यस्तै बुधबार वाकओभर प्राप्त गर्दै दोस्रो चरण प्रवेश गरेका नवीनले भारतका सहर्ष मोहनलाई नतिजा सुम्पेका थिए।

उनले पहिलो सेट निकै कडा संघर्ष गरी २९–२७ मा जितेका थिए। तर बाँकी दुई सेटमा भने उनी समान २१–१८ ले पछि पर्दा नेपालको आशा तुहिन पुग्यो।
यसैगरी महिलातर्फ सीता राई थाइल्यान्डकी खेलाडी पोर्नतिप बुरानाप्रसेर्तुकसँग २१–३, २१–४ ले पराजित भइन्।

त्यस्तै नीता लम्साल दोस्रो चरणमा भारतकी मुग्धा आग्रेसँग २१–४, २१–११ ले पराजित हुन पुगिन्।

 

 

 

प्रतिक्रिया दिनुहोस्