एउटै चालकका दुई लाइसेन्स



हेटौंडा, (नेस)।

एउटै चालकका दुईवटा लाइसेन्स फेला परेपछि मकवानपुर प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान शुरू गरेको छ। पक्राउ पर्नेमा ना२ह ३६९१ नम्बर अटोचालक शिव सञ्जेल छन्।

कान्ति लोकपथअन्तर्गत् हेटौंडा–५, पिप्लेमा सवारी जाँचका क्रममा वडा प्रहरी कार्यालय हेटौंडाका प्रहरी निरीक्षक ईश्वरीप्रसाद भण्डारीको चेकिङ टोलीले उनको साथबाट दुई वटा लाइसेन्स बरामद गरेको हो।

सञ्जेलबाट बरामद २०६८ असोज ५ मा जारी भएको ५–५९५२१ नम्बरको पहिलो लाइसेन्समा उनको ठेगाना निबुवाटार–५, जन्ममिति २०४९ असोज २८ गते र ब्लड ग्रुप ‘ए पोजेटिभ’ उल्लेख छ।

२०७० असार ४ गते जारी भएको ०५–६२३४२७ नम्बरको अर्को लाइसेन्समा उनको ठेगाना आमभञ्ज्याङ–९, जन्ममिति २०५२ माघ १७ गते र ब्लड गु्रप ‘ओ पोजेटिभ’ पाइएको छ।

पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालयले सरकारी कागजात कीर्ते मुद्दामा अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्