बाँदरको समस्या समाधान गर्नेलाई भोट



विजय नेपाली, कास्की।

नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेल बिहीबार दिनभर भलाम क्षेत्रमा घरदैलोमा सक्रिय हुनुभयो। उहाँले बिहीबार भलाम र डाँडा खोरका स्थानीयसँग मत माग्ने क्रममा स्थानीय किसानले बाँदरको समस्या समाधान गर्नेलाई मात्र भोट दिने बताएका छन्। स्थानीयले नेपाली कांग्रेसका उम्मेदवार पौडेलसँग बाँदरको समस्या समाधान गरिदिन आग्रह गरेका थिए।

‘हामीलाई बाँदर (लाखे) ले साह्रै दुःख दिएको छ, धेरै ठाउँमा समस्या सुनायौं तर समाधान गर्न कसैले ध्यान दिएनन्। जसले हाम्रो समस्या समाधान गरिदिन्छ उसैलाई हाम्रो भोट’, शेराखेतमा धान काटिरहनुभएका ६४ वर्षीया पुतलीमायाले भन्नुभयो।

पौडेल मत माग्न खेतसम्म पुग्दा पुराना नेता खेतमै देखेपछि कृषक मख्ख परेका थिए। डाँडाखोरका स्थानीयले लामो समयपछि पुराना नेतालाई घरगाउँमा देख्दा खुसी व्यक्त गरे। उम्मेदवार पौडेलले कम्युनिस्ट सरकारले राज्यका सबै संयन्त्रको दुरूपयोग गरेको आरोप लगाउनुभयो।

उहाँले लोकतान्त्रिक संविधानलाई नै चुनौति दिंदै वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भएको बताउनुभयो। सरकारको यस्ता रवैया र हावादारी कुराले जनता निकै निराश भएकाले आफैंले घरदैलो अभियानका क्रममा पाएको उहाँले बताउनुभयो।

‘सरकारको यो रवैयालाई ठीक ठाउँमा ल्याउन र मुलुकमा कम्युनिस्ट शासनबाट जनता आजित भएका छन् भन्ने सन्देश दिन पनि यो चुनावमा कांग्रेसले जसरी पनि जित्नुपर्छ’ पौडेलले भन्नुभयो, ‘उमेरले पाको भए पनि विचार र आफूले बोकेका सिद्धान्त नयाँ र प्रजातान्त्रिक भएको उहाँले स्पष्ट पार्नुभयो।

प्रतिक्रिया दिनुहोस्