गाउँपालिकामा अध्यक्षका ४० उम्मेदवार आ–आफ्नै एजेन्डा



आरके सिंह, जनकपुरधाम।

महोत्तरीको पिपरा गाउँपालिकामा अध्यक्ष पदका लागि २० जनाले उम्मेदवारी दिएका छन्। बुधबार निर्वाचन आयोगको कार्यालयमा विभिन्न पार्टीबाट ११ र स्वतन्त्रमा ९ जनाले मनोनयन दर्ता गराएका छन्। प्रदेश २ संयुक्त सरकार रहेको समाजवादी पार्टी र राजपाबीच विवादका कारण दुवै पार्टीबाट अलग–अलग उम्मेदवारी दर्ता गराएका छन्।

राजपाले पूर्वअध्यक्ष चौधरीकी पत्नी रविताकुमारी चौधरीलाई उम्मेदवार बनाएको छ। पूर्वअध्यक्ष चौधरीको लोकप्रियता र संवेदनालाई मध्यनजर गरी उनलाई अध्यक्षको उम्मेदवार बनाएको राजपा नेताहरूको भनाइ छ। यस्तै तत्कालीन माओवादीबाट निर्वाचन लडेका रामजानकी यादव समाजवादी पार्टीबाट चुनाव लड्दै छन्।

नेकपाबाट विक्रम चौधरी, कांग्रेसबाट विजयकुमार यादव, जनमत पार्टीबाट अन्जनी देवी मण्डल, राष्ट्रिय जनमुक्ति पार्टीबाट इसराजुल दुनिया, नेपाल जनता पार्टीबाट रामाकान्त झा, नेपाल लोकतान्त्रिक पार्टीबाट राजकिशोर यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट श्यामसुन्दर चौधरी, ऐतिहासिक प्रजातन्त्र पार्टीबाट श्यामसुन्दर चौधरी, ऐतिहासिक प्रजातन्त्र पार्टीबाट शुकराम यादव, राप्रपा संयुक्तबाट सुनिल ठाकुरले उम्मेदवारी दिएका छन्।

यस्तै स्वतन्त्रबाट किशोरी यादव, गणेशकुमार यादव, पुनित अधिकारी, प्रदीपकुमार यादव, प्रवीण चौधरी, रञ्जितकुमार झा, रामवृक्ष यादव, शैलदेवी मण्डल र सञ्जयकुमार यादवले उम्मेदवारी दिएका हुन्।

उपनिर्वाचनमा उम्मेदवारी दिएका दल तथा स्वतन्त्र उम्मेदवारहरूले आफू चुनावी एजेन्डामा जनजीविकाको सवाल, शिक्षा, स्वास्थ्य, सुशासन र महिलाको सवालमा साझा एजेन्डा प्रस्तुत गरेका छन्।

राष्ट्रिय जनता पार्टी (राजपा) बाट निर्वाचित गाउँपालिका अध्यक्ष विनोद चौधरीको निधनपछि अगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनमा दलका तथा स्वतन्त्र उम्मेदवारहरू आफ्नो एजेन्डा लिएर चुनावी मैदानमा प्रचारप्रसार थालिसकेका छन्।

नेकपाका उम्मेदवार विक्रम चौधरीले गाउँपालिको शासन व्यवस्था सुदृढ गर्ने, अस्पतालका लागि निर्माण भएर राखिएको भवनमा अस्पताल सञ्चालन गर्ने, विगही सिँचाइ योजनाअन्तर्गत सिँचाइको व्यवस्था गर्ने, प्रत्येक वडामा कम्तिमा एउटा विद्यालयमा अंग्रेजी माध्यममा पठनपाठन शुरू गराउनेलगायतका एजेन्डा लिएर चुनावमा उत्रेको बताउनुभयो। ‘म पराजित भएर पनि गाउँपालिका कार्यालय छेउमै कार्यालय खोलेर दुई वर्ष जनतालाई सेवा गरेको छु।

मेरो प्रतिस्पर्धा कसैसँग छैन,’ –उहाँले भन्नुभयो।नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार यादवले भ्रष्टाचार निर्मूल पार्न, सुशासन, शिक्षाको अवस्थामा सुधार ल्याउने, बृद्धभत्तामा सहजतालगायतका एजेन्डा बोकेर चुनावमा होमिएको बताउनुभयो। ‘जनतालाई वास्तवमा गाउँमै सिंह दरबार छ भन्ने अनुभूति दिलाउँछु।

दुई वर्षको कार्यकालमा मधेसवादी दलको काम देखेर जनता निराश छन्। कुनै क्षेत्रमा केही विकास हुन सकेको छैन’ –उहाँले भन्नुभयो। श्रीमान्ले देखेको सपना पूरा गर्न आफूले उम्मेदवारी दिएको राजपाकी उम्मेदवार रविता कुमारीले बताउनुभएको छ। ‘शिक्षा क्षेत्रलगायत अन्य विकास निर्माणका थुप्रै काम गर्ने वहाँले सपना देख्नुभएको थियो। त्यहीँ सपना पुरा गर्न पार्टीले मलाई टिकट दिएको छ’ –उहाँले भन्नुभयो।

समाजवादी पार्टीका उम्मेदवार रामजानकी यादवले सिँचाइयुक्त पिपरा बाढीमुक्त पिपरा, विकास र समृद्धि, कमिसन र भ्रष्ट्रचार विरुद्ध संघर्ष गर्ने लगायतका मुद्दा लिएर चुनाव लडेको बताउनुभयो। ‘जनता हत्तोत्साहित भएका छन्। दुई वर्षमा केही काम भएको छैन। जनतामा छाएको निराशापन हटाउन चुनाव लडेको छु’ उहाँले भन्नुभयो।

स्थानीयका अनुसार उपनिर्वाचनमा नेकपा, राजपा, समाजवादी पार्टी र कांग्रेसबीच मुख्य प्रतिस्पर्धा हुनेछ। पछिल्लो स्थानीय निर्वाचनमा तत्कालीन एमालेबाट निर्वाचन लडेका विक्रम चौधरी झिनो मतले मात्र पराजित भएका थिए। गाउँपालिकामा जम्मा करिब १८ हजार मतदाता छन्।

जसमध्ये पछिल्लो स्थानीय तहको निर्वाचनमा तत्कालीन एमालेले करिब १ हजार ९ सय, समाजवादी पार्टीले ८ सय, तत्कालीन माओवादीले करिब १५ सय र राजपाले २ हजार ८ सय मत ल्याएका थिए। माओवादीबाट समेत उम्मेदार लडेका कारण पछिल्लो निर्वाचनमा मत विभाजन भएको छ।

यसपालि नेकपा एक भएका कारण विक्रम चौधरी बलियो देखिन्छन्। स्थानीयहरूका अनुसार कांग्रेसका उम्मेदवार विजय यादव गाउँमा खासै नबस्ने हुँदा उनको व्यक्तिगत पकड खासै छैन। समाजवादी पार्टीले पछिल्लो पटक संगठन बलियो बनाउन प्रयास गरेका कारण उहाँको व्यक्तिगतका साथै संगठनको हिसाबले समेत गाउँपालिकामा राम्रै पकड छ।

तर गाउँपालिकामा जातीय समीकरणले भने ठूलो अर्थ राख्छ। भुमिहार जाति गाउँपालिकामा निर्णायक भोट हुने गरेको स्थानीहरू बताउँछन्। राजपाकी उम्मेदवार रविता चौधरी मूख्य प्रतिस्पर्धीमध्ये एक मात्र अनुहार भूमिहारबाट लडेका कारण उनलाई समेत कमजोर आँकलन गर्न सक्ने अवस्था छैन।

प्रतिक्रिया दिनुहोस्