राप्रपाको जनकपुर–लुम्बिनी रथयात्रा शुरू



जनकपुर, (नेस)।

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले जनकपुरबाट जनकपुर–लुम्बिनी रथयात्रा शुरू गरेको छ। नेपाललाई हिन्दू राष्ट्र बनाउने उद्देश्यसहित राप्रपा (संयुक्त)ले बिहीबारबाट धार्मिक यात्रा शुरू गरेको हो। सबै धर्मबीच समानतापूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्र नेपाल घोषण हुनु पर्ने बताउँदै मंसिर ४ गतेसम्म अभियान चलाउने राप्राले जनाएको छ।

अध्यक्षद्वय पशुपतिशम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले संयुक्तरूपमा जनकपुरबाट रथयात्रा शुभारम्भ गरेका हुन्। संसारमै एकमात्र सिङ्गो हिन्दू राष्ट्र नेपाल रहेकाले पुनः हिन्दू राष्ट्र स्थापनाका निम्ति जनकपुरदेखि लुम्बिनीसम्म पहिलो चरणको यात्रा आरम्भ गरेको अध्यक्ष लोहनीले बताउनुभयो।

हिन्दू राष्ट्रका लागि चरणबद्ध यात्रासहितको संघर्षको घोषणा गरेको उहाँको भनाइ थियो। सनातन सर्वधर्म सापेक्ष हिन्दू राष्ट्र कायम गर मूल नारासहित जानकी–बुद्ध रथयात्रा गर्न लागेको अध्यक्ष जबराले बताउनुभयो।

नेपालको धर्म र संस्कृतिमाथि प्रहार गरी धर्म निरपेक्षता घोषणा गरेकाले चरणबद्ध यात्राको आरम्भ गर्न लागेको जिकिर गर्नुभयो। उहाँले संसारमै हिन्दू राष्ट्रको पहिचान गुमाएकाले एकल र सिंगो नेपाललाई हिन्दू राष्ट्र घोषणा गनबाहेकको विकल्प नरहेको दाबी गर्नुभयो। नेपाल हिन्दू राष्ट्र भएमा भारत र चीनसमेतले स्वागत गर्ने उहाँको दाबी छ।

फरक प्रसंगमामा बोल्दै डा. लोहनीले भारतले ०५२ सालमै अतिक्रमण गरेको लिपुलेख र कालोपानी फिर्ता गर्नुपर्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्