मेरो देश, सिमाना र म



दामोदर पौडेल

म हरेक दिन साँघुरिँदै गएको छु। मानसिकरुपमा र भौतिकरुपमा पनि यो क्रम जारी छ। मेरो पहाड र मेरो तराई अब मधेसी अधिकार र पहाडी शासकको क्षेत्रमा परिणत भएको छ। धर्म प्रचारकहरूले हिन्दू र बौद्ध धर्ममाथि आक्रमण गरेको आरोप छ। धर्म प्रचारकहरूले पैसा र भ्रमबाट हामीलाई उनीहरूको धर्ममा रुपान्तरण गर्दै छन्।

परिश्रमको काम नगर्ने र राजनीतिबाट सजिलै पैसा कमाउने मानसिकतामा नेपालीहरू नजानेरै पनि लागेको पाइन्छ। यो अवस्थाको अन्त्य नभएसम्म भारत वा कुनै देशविरुद्ध झन्डा, जुलुस र विरोध भनेका ‘पेनकिलर’ मात्र हुन्। हामीले सम्भव हुने कुरामा आत्मनिर्भर हुन सक्नु पहिलो आवश्यकता हो। पानी र बिजुलीको मात्रै सदुपयोग गर्ने हो भने पनि नेपाल राष्ट्रबलियो बनाउन सकिन्छ।

केही भने विभिन्न पीडाको कारणले पनि धर्म परिवर्तन गरेका छन्। हिन्दूलाई बुद्धिस्ट होइन, बरु अर्कै धर्ममा लगिँदैछ।माओवादी विद्रोहको समयमा गाई काटेर मासु खाने गरेका समाचार आउने गर्थे।

मन्दिर भत्काएका चर्चाहरू पनि प्रशस्त चले। पण्डितहरू मारिए। तर गिर्जाघरहरू भत्केनन् रपास्टरहरू मारिएनन्। बाबुरामजस्ताले हिन्दू धर्म दलितहरूको धर्म नै हैन भन्दै हिँडेका छन्।

प्रचण्डले क्रिश्चियन धर्म कम्युनिस्टको धर्म हो भन्ने संकेत गरेको पाइन्छ। कृष्णबहादुर महरा, वर्तमान उपराष्ट्रपति आदिलाई क्रिश्चियन भनिन्छ। कम्युनिस्टहरूको धर्मप्रति विमति रहन्छ र धर्मप्रति अविश्वास पनि हुन्छ भन्ने सुनिएकै हो। माक्र्सले धर्मलाई अफिम नै भनेका थिए। तर कम्युनिस्टले हिन्दू धर्म छोडेर नास्तिक बन्ने कुरा क्रान्तिकारीहरूको लागि सुहाउँथ्यो होला तर अर्को धर्म मान्नु भने फरक विषय भयो।

कम्युनिस्ट विचारकमाक्र्स यहुदी भए पनि एन्गेल्स त क्रिश्चियन नै थिए। उनीहरूले धर्म नमान्दा मूलतःक्रिश्चियन र यहुदी धर्मलाई नै मूल आधार मानेका होलान्। प्रचण्ड दशैँ मान्दैनन् तर उनका सहयोगीहरू क्रिसमस आदि मान्छन्। किन हिन्दू र बौद्ध धर्ममाथि नै माओवादी हिंसात्मक आन्दोलनदेखि अहिलेसम्म आक्रमण भयो त ?

पैसाको आधारमा धर्म परिवर्तनको लागि सजिलो माध्यम भनेको गरिबी बढाउनु र समाजको व्यवस्थालाई ध्वस्त पार्नु नै हो। पश्चिमाहरूले नेपालमा माओवादीलाई पैसा दिएर नै माओवादी हिंसा बढाएकोर गरिबी बढाएको भन्ने आरोपसमेत छ। पैसाबाट धर्म परिवर्तन गराउने र समाजमा द्वेष फैलाएर धर्मप्रतिको आस्थाको परम्परालाई बिगार्ने गरेपछि अझै धर्म परिवर्तन सजिलो हुन्छ भनिन्छ।

यस कार्यमा पश्चिमाहरू सफल पनि भए। अहिले पनि जातीय, भाषिक, सांस्कृतिक विवादहरू बढाउने काम भइरहेको छ। तिनै विवादबाट छिरेर धर्म परिवर्तन गर्न सकिन्छ। अमेरिकी राष्ट्रपति जर्ज बुसले पहिलो राष्ट्रपति चुनावमा इन्डिया कहाँ छ भन्ने सवालमा भनेका थिए कि यो अमेरिकाको एक प्रान्त हो। उनले इन्डियाको नामसमेत राम्रोसँग सुनेका रहेनछन्।

जब उनले दोस्रोपटक चुनाव जिते त्यसपछि उनले नेपालमा माओवादी आन्दोलन हुनुको कारण क्रिश्चियनहरूलाई दुःख दिएकोले हो भने। यसले के देखिन्छ भने, माओवादीको आन्दोलनको लक्ष्यक्रिश्चियन धर्मलाई बढावा दिनु पनि थियो।

तर राष्ट्रपति बाराक हुसेन ओबामाको हिन्दू धर्मप्रति ठूलो सम्मान थियो र वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प पनि हिन्दू धर्मलाई शान्तिको धर्म मान्छन्। अहिले अमेरिकाको मूल धार हिन्दू धर्मप्रति नकारात्मक देखिँदैन। अमेरिकी राजदूत टीका, देउसीहरूमा रमाउँछन्।

तैपनि समाजको मूल धार्मिक आस्थालाई भत्काएर नै अर्को धर्ममा नागरिकहरूलाई लग्न सकिन्छ। यसको लागि समाजमा कुनै पनि नाममा अस्तव्यस्तता ल्याउनुपर्दछ भन्ने नै पश्चिमाहरूको धार्मिक सूत्र हो।

अफगानिस्तानमा मुसल्मानहरूलाई क्रिश्चियन बनाउने क्रममा करिब १० प्रतिशत मुसल्मान क्रिश्चियन भएको अनुमान छ। त्यहाँको गृहयुद्ध धर्म परिवर्तनको लागि ठूलो आधार बन्यो।

मेरो राष्ट्रको एकताको आधार हिन्दू र बौद्ध धर्म मान्नु थियो। अब त्यो अवस्था कमजोर हुँदैछ। केहीले राजसंस्थालाई पनि एकताको आधार मान्ने गरेका छन्। अब नेपालीहरूले आफूलाई नेपाली भन्न भन्दा मधेसी, बाहुन, नेवार, मुसल्मान, क्रिश्चियन आदि भन्न रुचाउन थालेका छन्। तराईको सम्पर्क भाषाहिन्दी हुनुपर्दछ भन्ने मदेसवादी दलहरू २ नम्बर प्रदेशको सरकारमा नै छन्।

अर्थात् धार्मिक, सांस्कृतिक र भाषिकरुपमा देश वा नेपाली समाज भित्रभित्रै धेरै विभाजित भएको छ र कमजोर भएको छ।देशमा भाषाले मात्र पनि फरक पार्दैन। भारतमा रहने नेपाली भाषीहरू भारतीय भएकोमा पनि गर्व गर्दछन्।

नेपालमा भएका भोजपुरी तथा मैथिली भाषीहरू नेपाली भएकोमा गर्व गर्दछन्। नेपालका मधेसी मूलका नेपालीहरूले नै भारतीय भोजपुरी तथा मैथिली भाषीहरूलाई मुग्लानिया भन्थे।

उनीहरू आफू नेपाली भएकोमा गर्व गर्दथे। भारतीयहरूसँग उनीहरूले बारम्बार ‘पंगा’ पनि लिएका छन्। तर नेपालको मधेस र मधेसी नेपालीनेताहरूलाई भारतलाई खुशी बनाएर सत्तामा बस्ने रहर जाग्यो। त्यो दुःखद हो, त्यही कारणले भारतीयहरूलाई नागरिकता दिन थालियो भनिन्छ। नेपालकामधेसीहरूमध्ये कतिले अझै नागरिकता पाएका छैनन्।

भारतीयले भने सजिलै नागरिकता पाएका छन्। उनीहरू बाठा पनि छन्। अहिले भारतीय आत्मा भएका नेपाली नागरिकहरूले नेपाललाई भित्रभित्रै धमिरोजस्तो बनाएर थिचिरहेका छन् र खोक्रो बनाइरहेका छन् भन्ने आरोप पनि छ। यदि यो सत्य हो भने जनसंख्या वृद्धिदरको हिसाबले केही वर्षमा भारतीय मानसिकता लिएकाहरूको बाहुल्यताले यो मुलुक विलय नहोला भन्न सकिन्न।

त्यसो त सिक्किमका जस्ता लेण्डुप दोर्जेहरू नेपालमा पनि धेरै हुन सक्छन्। यसले भारतलाई अझै सजिलो हुनेछ। बीपी राजावादी थिएनन् भनेर नेता रामराजाप्रसाद सिंहले अनौपचारिक छलफल हुँदा भनेका थिए। तर बीपीले लेण्डुप दोर्जे प्रवृत्ति रहेसम्म नेपालमा लेण्डुपहरूलाई रोक्न राजतन्त्रको आवश्यक छ भन्ने मान्यता राखेको हुन सक्छ।

यो देश धार्मिक, भाषिक, मानसिक, जातीय तथा सांस्कृतिकरुपमा समेत कमजोर हुँदै गएको छ। वास्तवमा देश र नागरिकलाई जोड्ने फरक कारण चाहिन्छ नै। जब फरक कारण रहँदैन, त्यो देश अर्को फरक रुप नभएको देशसँग मिल्न सक्छ। जर्मन अलग हुनुमा फरक राजनीतिक कारण थियो। पूर्वमा जबकम्युनिस्ट सरकार रहेन, देश एक भयो। भारत र पाकिस्तान धर्मको कारणले अलग भए भने पाकिस्तानबाट बंगलादेश भाषाको कारणले मूलरुपमा अलग भयो।

उत्तर र दक्षिण कोरिया पनि राजनीतिको कारणले मात्र अलग छन्। सबै कुरा मिलेपछि अलग राष्ट्र बन्नु भनेको कृत्रिम भिन्नता मात्र हुन जान्छ।नेपालको भारतसँग अलग रहने सबै आधार गुम्दै छन् र गुमेपछि के हुन्छ ?चीनको सहयोगले पनि काम गर्दैन। हामी भारतले सिमाना मिचेकोमा पीडित छौं।

त्यो जायज पनि छ। भारतसँगको सीमा विवाद छलफल र त्यसबाट नभए संयुक्त राष्ट्र संघसमेतबाट मिलाउन सबै तयार हुनुपर्दछ। तर भित्रबाटै सकिँदै गएको नेपाल कसरी बचाउने ?सन् १९५० को सन्धीमा नेपाली र भारतीयहरूलाई एक–अर्का देशले नागरिकले पाउने सुविधा दिनुपर्ने भनिएको छ। तर भारत १९५०को सन्धीलाई बिर्सेर नेपालीलाई नेपाल नै पठाउने धम्की दिँदैछ भने नेपालमा उनीहरूका देशका नागरिकहरू वा नागरिकका हैसियत हुनेहरूलाई नागरिकता दिन दबाब दिँदैछ।

यसमा उनीहरूको मन मिल्ने नेपालका नागरिक बनेका शासकहरू पनि होलान्। यो विरोधाभासपूर्ण अवस्थालाई कसरी सम्हाल्ने ? समस्या यहाँ छ।
हामी दूरदर्शी छैनौं। भारतीयलाई छेक्न तारबार लगाउनुपर्ने कुरा गर्दछौं तर हाम्रा नेपाली दाजुभाइ, दिदीबहिनी भारतीय रोजगारीको भरमा बाँचेको बिर्सन्छौं। के तारबार लगाएपछि नेपालीहरू भारतमा सजिलैसँग रोजगारीको लागि जान सक्छन् ? सम्बन्ध दोहोरो नै हुन्छ।

हामीले सन् १९५० पछि धेरै भारतीयलाई नेपालको नागरिकता दिएका छौं। जस्तो– २०४६ साल चैत्रभन्दा पहिला नेपालमा जन्मेका मानिसलाई नेपालको नागरिकता दिने व्यवस्था भएको छ। भारतीयले नेपालमा काम गर्नको लागि छुट भएपछि नेपालमा बस्दा जन्मेकाले नेपालको नागरिकता पायो। साथै नेपाली पनि भारतमा जन्मेको भए भारतीय नागरिकता पाउने कि नपाउने ?

हैन भने सन् १९५० पछि नेपालीहरू भारतमा गएको भए भारतले नेपाल फिर्ता गर्ने र त्यसपछि भारतीयहरू नेपाल आएको भए उनीहरूलाई नेपालले फिर्ता गर्ने धारणासमेत नेपाल राख्न तयार हुने अवस्था सोच्ने कि? हामी नपाली भित्रभित्रै मरिरहेको कति र कसरी सहने ?तर मुख्य समस्यायो मात्र पनि हैन। काम कम गर्ने, व्यावसायिक काम गर्नै नसक्ने,परिश्रमको काम नगर्ने र राजनीतिबाट सजिलै पैसा कमाउने मानसिकतामा नेपालीहरू नजानेरै पनि लागेको पाइन्छ।

यो अवस्थाको अन्त्य नभएसम्म भारत वा कुनै देशविरुद्ध झन्डा, जुलुस र विरोध भनेका ‘पेनकिलर’ मात्र हुन्। हामीले सम्भव हुने कुरामा आत्मनिर्भर हुन सक्नु पहिलो आवश्यकता हो। पानी र बिजुलीको मात्रै सदुपयोग गर्ने हो भने पनि नेपाल राष्ट्रबलियो बनाउन सकिन्छ।

अन्यथा हाम्रा सबै शक्तिहरू क्रमशःक्षीण हुँदै जानेछन्। ग्लोबलाइजेसनको यो अवस्थामा कुरामात्र गर्ने काम नगर्ने कार्यले राष्ट्रियता बलियो बनाउन सकिँदैन।सबै नागरिकलाई समान व्यवहार गर्नु राष्ट्रियतालाई बलियो बनाउने अर्को महत्वपूर्ण कार्य हो।हामी बढीभन्दा बढी आत्मनिर्भर हुनुपर्दछ।

नेपालीलाई नागरिकता दिनबाट नछुटाउने र विदेशीले नागरिकता पाउनबाट रोक्ने कार्य हुनुपर्दछ। सिमानामा हरेक वर्ष निरीक्षण गरिनुपर्छ। अर्को राष्ट्रसँग सो सम्बन्धमा आपसी जानकारी गराउने कार्य महत्वपूर्ण छ।

अर्कोतर्फ कुनै देशको सामरिक महत्वको स्थानलाई कुनै पनि हालतमा अर्को देशको हितको लागि उपयोग हुन नदिने सम्बन्धमा सम्बन्धित देशलाई आस्वस्त तुल्याउन पनि आवश्यक छ। त्यो देश भारत वा चीन जुन पनि हुन सक्छ।

 

प्रतिक्रिया दिनुहोस्