जुत्तामा सपना



कमल ढकाल

मनमा आनन्द भयो भने मौसम मनमोहक लाग्छ। कालो कुइरोले पनि मादकता छरेझैं लाग्छ। मनमा आनन्द छैन भने जाडोको सूर्यदेखि पनि दिक्क लाग्छ।। दिक्क लाग्दा सुन्दर बाजाले पनि कान पाक्छ।

सधैं बोल्दा मज्जा लाग्ने मान्छेसँग बोल्दा पनि नमज्जा लाग्छ। मज्जा लाग्ने बनिरहन र मनमोहक बनिरहन मन लाग्छ सधैं सकिँदैन। देखिरहेको भोगिरहेको पढिरहेको सामान्य सिद्धान्त पनि समयअनुसार असामान्य बन्छ।

उक्लदै जाँदा हरेक खुड्किला गाह्रा हुन्छन् तर नरोकिई अगाडि बढ्दै जाँदा माथि उचाइमा पुगिन्छ। उचाइबाटै सुन्दर दृश्यहरू देखिन्छन्। उनको जीवनमा पनि यस्तै भयो। जीवनमा जुत्तामा सपना देखे। अरूले लगाउने जुत्तामा देखेको सपनाले उनलाई खुड्किलो उक्लँदै जाँदा गाह्रो भयो। तर रोकिएनन् र त आज सुन्दर घर परिवार बनाए। जुत्तामै सुन्दर संसार बनाए र उनी आफै सुन्दर दृश्य बने।

जसरी सामान्य मान्छे असामान्य बन्छ। सामान्य मान्छे असामान्य बन्ने संसारको नियम हो। अर्बाैं मान्छेको यो भीडमा व्यापारीका लागि मान्छे ठूलो सम्पति हो। मान्छेले खाने लाउने, हिँड्नेमा मात्र हैन टल्काएर लाउने जुत्तामै मात्र पनि सयौं व्यापार लुकेको हुन्छ। अर्बाैं अर्बको सम्पत्ति लुकेको हुन्छ।

जुत्ता टल्काउने उपभोक्ता हुन्छ, बेच्ने व्यापारी हुन्छ बनाउने उद्यमी हुन्छ। रानीबारीमा बस्ने रामकृष्ण प्रसाईंलाई चटारो छ जुत्ताको उद्यमको। दुई दशकअघिदेखि उनी यही उद्यममा छन्। त्यसैले त बिहान उठनेबित्तिकै शुरू हुन्छ जुत्ताको कुरा, सुत्दा पनि सकिँदैन जुत्ताको कुरा।जातीयताले ग्रस्त नेपाली समाजमा एक उदाहरण हुन रामकृष्ण।

जातले गर्ने व्यापार रहेन अब। उनी भने समाजको त्यो व्यवाहारबाट पनि आजित बने। उनीसँगै रामेछाप भटौलीमा जन्मेका भान्टाङ्भुन्टुङले अर्काे पुस्ताका भान्टाङ्भुन्टुङ जन्माइसक्यो। पुस्तेनी हस्तान्तरण हुने भान्टाङ्भुन्टुङको पुस्ता पुस्तान्तरण हुने कुरा एकातिर हुन्छ उसले भोगेको कुरा अर्काेतिर। उतिबेला भटौलीमा पढने गाह्रो कुरा थियो।

निमावि सकेर हाई स्कुल पढ्न गाउँबाट पाँच किमि टाडा डेरा लिएर बस्थे रामकृष्ण। बोल्दा सुनिने हिँड्दा आधादिन लाग्ने पहाडको विशेषता हो। भौगोलिक विकटताले पनि अविकसिततातिर धकेलेको छ नेपालीलाई।

त्यही प्रतिकूलता चिर्दै अनुकूलता खोज्न एसएलसी दिएपछि कामको खोजीमा धनगढी पुगे रामकृष्ण। फर्सीले लहरो जहाँ छ त्यहीं फर्सी फलाउँछ। मान्छे पनि आफन्त खोज्दै आफू अगाडि बढ्न हिँड्छ।

रामकृष्णले पनि कैलाली बहुमुखी क्याम्पसमा आफन्त खोज्दै पुगे र त्यहीँबाट आईए सके। आईए सकेपछि धनगढी छाडे। जनजीविका र करिअर बढाउन पढ्दै काम गर्दै गर्नुपर्छ। रामकृष्ण पनि मामाको छोराको जुत्ताको दोकानमा काम गर्न थाले, पढ्न पनि।

राजधानीमा खर्च बढी हुने। डेरा भाडा, खाना, खाजा अनि उर्वर उमेरमा सोखको साधनमा अलिक ध्यान दिँदा कहिल्यै पैसो नपुग्ने भयो। पैसो बनाउन व्यापार गर्नु पर्यो भनेर उनले शंकरदेवमा डिप्लोमा गर्दागर्दै मोजाको होलसेल व्यापार शुरू गरे।एक डेढ वर्षसँगै काम गर्ने उनको साथी भक्तबहादुरले जुत्ता बनाएर व्यापार गर्थे।

भक्तले रामकृष्णलाई जुत्ताको व्यापार गरांै भन्न थाले। मोजा त जुत्तामा नै लगाउने हो मोजाको होइन जुत्ताकै व्यापार किन नगरांै भन्ने रामकृष्णलाई लाग्यो। बाबुसँग चार–पाँच लाख मागेर उनले जुत्ता उद्योगको जग लगाए।पौडी खेल्न नजान्नेले पोखरीमा हाम फाले जस्तै रामकृष्ण जुत्ता उद्योगमा आए। थाहा नहुँदा सानो कुराले पनि टेन्सन दिन्छ।

जानेपछि यति कुरा कति गाह्रो भएछ भन्ने पर्छ। नेपाली जुत्ताको कुनै ब्रान्डिङ थिएन। आम उपभोक्ता नेपाली जुत्ता भन्नेबित्तिकै मुन्टो बटार्थे। राख्नोस् मात्रै बिकेन भने माल फिर्ता लान्छु भन्दै पसलेसँग मीत लगाएर व्यापार गर्नुपथ्र्याे। नेपाली जुत्ता राखे भएका ग्राहक भाँडिन्छन् भन्ने धारणा थियो पहिलेका पसलेको। राख्यो–राख्यो पछि जुत्ता नै फिर्ता गर्थे।

क्या भूतले खाजा खाने बेलामा काम गरें भनेर रामकृष्णले कहिल्यै सोचेनन्। मिहिनत गरिरहे। यताबाट हुन्छ कि उताबाट हुन्छ कि भनेर गरिरहे। नजानेको काम भनेनन्। कर्ममा लागिरहे। मिहिनत गरेपछि चिप्लेकिरा त भित्तो चढ्छ उनी त मान्छे परे। लागेको लाग्यै गरेपछि रामकृष्णको अगाडि सफलता झुकेर अभिभादन गर्दै आयो, नमस्कार रामकृष्ण सर भनेझंै गरी।

मान्छेलाई साइकोलोजी ट्रिटमेन्ट गर्नपर्ने बुझेर उनले ब्रान्ड बनाउन लागे। २०५८/५९ सालमा छाला जुत्ताको वार्षिक मेला भयो। त्यसले मान्छेको दिमागमा नेपाली जुत्ता पनि राम्रै रहेछ भन्ने पार्यो। यात्रा शुरू मात्र गर्नपर्छ त्यसले आफै लक्ष्य भेटाउँछ।

मान्छेले नेपाली जुत्ताको बारेमा सोच्न मात्र थालेपछि उनले शिखर सुज ब्रान्डिङ गरे। त्यसपछि कहिल्यै पछाडि फर्कनु परेन। अहिले ठ्याक्कै उल्टो भएको छ।

नेपाली जुत्ता राख्दिनँ भन्नेले एडभान्स तिरेर राख्न थालेका छन्। समयले पल्टा खायो। जति नेपाली जुत्ता बनाए पनि अपुग भएको छ अहिले बजारमा। नेपाली जुत्ताले बजारमा वामन अवतार लिएको देखेर व्यवसायी चकित छन्।

नेपाली बजारको ६० प्रतिशत मात्र नेपाली जुत्ताले ओगटेको छ। सिजन १२ महिना लाग्छ। बढ्दो बजारमा चाइनिज वा विदेशी जुनै जुत्ता आए पनि नेपाली खोज्ने ग्राहक बढिसके। द्रुतगतिमा बढेको मार्केटका लागि रामकृष्णले गोलढुंगा, पुरानो गुह्येश्वरी र विराटनगरमा कारखाना खोलेका छन्। चार पाँच सयलाई रोजगारी प्रदान गरिरहेका छन्।

बेरोजगारीले थिलमिलाएको नेपालमा जुत्तामा अनगिन्ती रोजगारका सम्भावना छन्। दुई चार लाख लगानी गरेर चार जना कामदार राखेमा कारखाना शुरू गर्न सकिन्छ। काम नै गरे पनि न्यूनतम ८ हजारदेखि काम जानेपछि २५ हजारसम्म कमाउन सक्छ।

हिजो केही थाहा नपाउने रामकृष्ण आज जुत्ताका सब कुरा थाहा पाउने भएका छन्। पहिले काम गरेर गाडी चढ्ने घर बनाउने उनको सपना उहिल्यै पूरा भइसक्यो।

अब फेरि नयाँ सपना पलाएको छ। देशलाई नै सकेसम्म जुत्तामा आत्मनिर्भर बनाउने।अहिले मारुती, लरिन र शिखर गरी तीनवटा कारखाना छन् उनका। पचासौं हजार जुत्ता बनाउने क्षमता छ उनको कारखानाको।

दश वर्षअगाडि ३ हजार ५ सय जुत्ता बनाउने मेसिन किन्दा खुसी भएका रामकृष्ण अहिले झनै खुसी छन्। अब नीति नियम नयाँ बनाई नयाँ ढंगले देशलाई जुत्तामा आत्मनिर्भर बनाउने उनको योजना छ।

एसोसियसनको अध्यक्ष बनिसके। संगीता कडरियाका पति बनिसके। दुई छोरा आर्सेस र आर्हनका बाबु बनिसके र बने नेपालकै भव्य ठूलो जुत्ता व्यापारी।
नेपालमा जुत्ता बनाउनु अब उनका लागि खाली पोस्टमा गोल हान्नुसरह भएको बताउँछन् उनी। अरू कसैसँग प्रतिस्पर्धा नभई आफैसँग प्रतिस्पर्धा भएको बताउँछन् रामकृष्ण।

जिन्दगीका घुम्तीमा सायद उनी थाकेर गलेका भए आज शिखर सुज नाम होइन बेनाम हुन्थ्यो होला। आफूलाई कहिल्यै निरास नहुने कोटीमा राख्दै र जहाँ समस्या आउँछ त्यहीं नै सम्भावनाको ढोका छ भन्दै अगाडि बढेका रहेछन् रामकृष्ण।सायद विष्णुका दुई अवतार उनको एकै नाममा भएर हो कि उनले चामत्कारिक सफलता हासिल गरेका।

प्रश्नको घेरो लगाउँदा सँगै बसेका उनका बाबु लोकनाथ भन्दै थिए। पहिलादेखि नै तिखो थियो यो। १९ वर्षको उमेरमा उद्योगमा हात हालेका रामकृष्णलाई देख्दा लाग्यो आजकलका १९ वर्षका युवा किन त्यतिकै हिँडेका होलान्। आखिर मनमै रहने त रहेछ सम्भावना।

उक्लँदै जाँदा हरेक खुड्किला गाह्रा हुन्छन् तर नरोकिई अगाडि बढ्दै जाँदा माथि उचाइमा पुगिन्छ। उचाइबाटै सुन्दर दृश्यहरू देखिन्छन्। उनको जीवनमा पनि यस्तै भयो। जीवनमा जुत्तामा सपना देखे।

अरूले लगाउने जुत्तामा देखेको सपनाले उनलाई खुड्किलो उक्लदै जाँदा गाह्रो भयो। तर रोकिएनन् र त आज सुन्दर घर परिवार बनाए। जुत्तामै सुन्दर संसार बनाए र उनी आफै सुन्दर दृश्य बने।

 

प्रतिक्रिया दिनुहोस्