देउवाद्वारा भातृ संगठनका नेताहरुलाई भारतविरुद्ध नारा जुलुश नगर्न कडा निर्देशन



न्युज अफ नेपाल, काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीका भातृ संगठनका नेताहरुलाई भारतविरुद्ध सडकमा नारा जुलुश नगर्न कडा निर्देशन दिएका छन् । पछिल्लो समय लिपुलेक र कालापानीको सीमा विवादबारे नेपाल विद्यार्थी संघले ठाउँ ठाउँमा नारा जुलुश गरेर भारतको विरोधमा प्रदर्शन गरिरहेको छ ।

यो भन्दा पहिले देउवाले पनि भारतविरोधी आन्दोलन र संघर्षलाई जारी राख्न निर्देशन दिएका थिए । तर, प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा हालै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वपक्षीय बैठकमा भारतसँग कुटनीतिक रुपमा सीमा विवादको समाधानको लागि पहल गरिने र यसको लागि सबै दल एकमत हुने निश्कर्ष निकालेपछि देउवाले अब भारतविरोधी आन्दोलन नचर्काउन नेविसंघका नेताहरुलाई निर्देशन दिएका हुन् ।

स्रोतकाअनुसार आजमात्रै पनि देउवाले आफूनिकटका नेताहरुसँग छलफल गरेका थिए । उनले भारतकोभन्दापनि सरकार विरुद्धमा उत्रिनुपर्ने निश्कर्ष निकालेका हुन् ।

भारतले हालै निकालेको नयाँ राजनीतिक नक्शामा लिपुलेक र कालापानी क्षेत्र आफ्नो नक्शामा पारेपछि नेपालमा भारतको विरुद्धमा सबै दल, यसका भातृ संगठनहरुले आन्दोलन गरिरहेका छन् । सरकारले कुटनीतिक माध्यमबाट भारतसँग कुरा गरेर विवाद हल गर्ने आश्वास दिँदै आएको छ भन्दै प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग कुरा गर्ने तयारी गरिरहेको बालुवाटार स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्