नुवाकोट र गोरखा भूकम्पपीडितका ५० हजार घर बनाउन ३ अर्ब प्रदान



नेपाल समाचारपत्र, काठमाडौं।

भारतीय निर्यात–आयात बैंक (एक्जिम) ले नुवाकोट र गोरखा जिल्लामा आवास निर्माणका लागि भारतले प्रदान गरेको तेस्रो किस्ताको शोधभर्नाका लागि सहुलियत क्रण व्यवस्था मार्फत ३ अर्ब १० करोड रुपियाँ अर्थात २७.९ मिलियन अमेरिकी डलर नेपाल सरकारलाई प्रदान गरेको छ।

नुवाकोट तथा गोरखा जिल्लाका ५० हजार निजी घर पुनर्निर्माणका लागि एक्जिम बैंकले क्रण व्यवस्थामार्फत ५० मिलियन अमेरीकी डलर उपलब्ध गराउने बाचा गरेको थियो।

भारतले यी घरको निर्माणका लागि अनुदान स्वरुप १०० मिलियन अमेरीकी डलर उपलब्ध गराउने प्रतिबद्धता गरेको थियो। भारतले हालसम्म घरधनीलाई पहिलो र दोस्रो किस्ता गरी ६ अर्ब ९६ करोड रुपियाँ (६९.६ मिलियन अमेरिकी डलर) प्रदान गरिसकेको छ।

घरधनीलाई नेपाल सरकारले निर्धारण गरेको मापदण्ड अनुरुप भूकम्प प्रतिरोधी घर निर्माण गर्न प्रोत्साहन गर्नका लागि भारते सामाजिक–प्राविधिक सहजीकरणको सुविधा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्