विमानस्थलको भीआईपी कक्ष प्रयोग गर्दा मापदण्ड पालना गर्न आग्रह



नेपाल समाचारपत्र, काठमाडौं।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले त्रिभुवन विमानस्थलको भीआईपी कक्ष प्रयोग गर्न नपाउँदैमा सानो नठान्न सांसदलाई आग्रह गर्नुभएको छ। बुधबार प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिमा उहाँले भीआईपी कक्ष प्रयोग गर्न नपाउँदैमा सानो नठान्न आग्रह गर्नुभयो।

बैठकमा सांसदले विमानस्थलका सुरक्षाकर्मी र कर्मचारीले सांसदलाई नचिनेर चेक गर्ने, कडा बोल्ने, मर्यादा नगर्ने गरेको भन्दै पर्यटनमन्त्रीसँग गुनासो गरेका थिए।जवाफमा मन्त्री भट्टराईले भीआईपी कक्ष प्रयोगलाई प्रतिष्ठासँग जोड्न नहुने बताउनुभएको थियो।

उहाँले भन्नुभयो–‘म मन्त्री हुनुअगाडि त्रिभुवन विमानस्थलमा कहिले पनि भीआईपी मार्ग प्रयोग गरिन, सधैं सामान्य नागरिकसरह यात्रा गरें, त्यसरी यात्रा गर्दा सानो भइदैन।’ भीआईपी सुविधा प्रयोगका लागि मापदण्ड रहेको भन्दै मन्त्री भट्टराईले त्यसलाई पालना गर्न आग्रहसमेत गर्नुभयो।

उहाँले भन्नुभयो–‘मापदण्डमा कसले कति जनासम्म आफन्त लैजाने भन्ने प्रष्ट छ, त्यसलाई पालना गरौं। मापदण्ड विपरीत गर्न खोज्दा कर्मचारीलाई धम्क्याउने, जागिर खाइदिन्छु भन्दै थर्काउने प्रचलन छ, यस्तो नगरौं।’

भीआईपीले आफ्नो चेतना बढाएको अवस्थामा मात्र पनि धेरै समस्या समाधान हुने मन्त्री भट्टराईले बताउनुभयो। छलफलमा सांसदहरूले विमानस्थलमा विद्यमान समस्या, नेपाल वायुसेवा निगमको सुधार, बन्दै गरेका विमानस्थल पूर्वाधार, उडान अवतरणमा भइरहेको डीले जस्ता विषयमा सरकारको धारणा मागेका थिए।

 

प्रतिक्रिया दिनुहोस्