मर्जर बाध्यकारी हैन ः अर्थमन्त्री खतिवडा



नेपाल समाचारपत्र, काठमाडौं।

अर्थमन्त्री डा. युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थाहरू मर्जरमा जाने विषय बाध्यकारी नभई स्वेच्छिक रहेको बताउनुभएको छ। बुधबार कामना सेवा विकास बैंकको १३औं वार्षिकोत्सवमा अर्थमन्त्री खतिवडाले बिग मर्जरको विषयलाई बाध्यकारी नबनाउने बताउनुभएको हो।

उहाँले भन्नुभयो– ‘मर्जर भनेको स्वेच्छिक कुरा हो, हामीले मर्जरमा जानुस् भनेर सुझाव दिने हो। बलजफ्तीले लोकतन्त्रमा केही हुँदैन। मर्जरका लागि बाध्य पारिंँदैन र पार्नु पनि हुँदैन।’ पछिल्लो समय बैंक तथा वित्तीय अनुशासन तथा वित्तीय स्थायित्वका क्षेत्रमा राम्रो प्रगति भएको भन्दै उहाँले मर्जरको विषयमा पनि बैंक तथा वित्तीय संस्था स्वयम्ले नै गम्भीर भएर सोच्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

‘लोकतन्त्रमा निधेष गर्ने वा बाध्यकारी गर्ने भन्ने विषय रहँदैन। तर, कानुन पालनाको सन्दर्भमा हामी कसैले उन्मुक्ति पाउँदैनौं र त्यसको मलतब कानुन नै लाग्दैन भन्ने होइन। कानुन सबैभन्दा पहिला मलाई लाग्छ, त्यसपछि राष्ट्र बैंकलाई लाग्छ र त्यसपछि तपाईंहरूलाई लाग्छ।’

उहाँले मुलुकमा लगानीको वातावरण भएन भन्दै गर्दा बैंक तथा वित्तीय संस्थामा कर्जाको चाप देखिनुले मुलुकमा लगानीका लागि वातावरण छ भन्ने देखाएको समेत उल्लेख गर्नुभयो।त्यस्तै बैंकिङ प्रणाली विस्तारै स्थायित्व र सुदृढीकरणतर्फ गइरहेको र नेपालको बैकिङ क्षेत्र दक्षिण एसियामै उत्कृष्ट रहेको उहाँले बताउनुभयो।

मन्त्री खतिवडाले आफूले जागिर खाएको वर्ष करिब अढाई सय बैंकका शाखाहरू रहेकोमा आधा जति घाटामा हुने गरेको र त्यतिबेला करिब एक करोड ६० लाख जनसंख्या रहेकाले ७० हजार मानिसको भागमा एउटा बैंक शाखा पर्ने गरेको बताउँदै तर आज तीन हजार तीन सय मानिसका लागि एउटा बैंक शाखा पुग्ने अवस्था आएको सुनाउनुभयो।

प्रतिक्रिया दिनुहोस्