शिक्षाको महत्व



हामी अध्ययन गर्छौं, पढ्छौं। अनि भनिन्छ, मानिस चेतनशील प्राणी हो, बौद्धिक प्राणी हो। तर अहिले अध्ययनको अर्थ कोरा ज्ञानमा सीमित छ। व्यावहारिक शिक्षाको हाहाकार छ। पढेर मात्रै केही अर्थ राख्दैन। पढेको कुरालाई जीवनोपयोगी गराउन सकियो भने मात्रै त्यसको दिगो अर्थ रहन सक्छ।

समय अनुकूल गुणस्तरीय र व्यावहारिक शिक्षा आजको आवश्यकता हो। यी मध्ये कुनै पनि शिक्षा नेपालमा पूर्णतः लागू हुन सकेको छैन। लागू हुन्थ्यो भने किन बेरोजगारी बस्नुपर्ने बाध्यताको सृजना हुन्थ्यो होला र ?

विवेकशील जनशक्ति उत्पादन गर्न शिक्षा अपरिहार्य छ। सबै पक्षको समानान्तर विकासको प्रमुख आधार भनेको शिक्षा हो। त्यसकारण जीवनको बाटो देखाउने अत्यावश्यक पक्ष शिक्षा भएकोले शिक्षाको अपरिहार्यता र महत्व दिनानुदिन बढ्दै पनि गएको छ। शिक्षित जनशक्ति उत्पादन आजको आवश्यकता हो।

व्यक्तिले आर्जन गरेको ज्ञानको उपयोग गरेर पेट पाल्न सक्ने स्थिति बनाउने व्यावहारिक शिक्षाको ध्येय हुन्छ। कुनै पनि ठाउँको सामाजिक, आर्थिक, राजनीतिक र समयसापेक्ष विकासको लागि शिक्षाको विकल्प छैन।

आजको शिक्षा जुन मात्रामा व्यावहारिकरूपमा हुनुपथ्र्यो त्यो मात्रामा प्रयोगमा ल्याइएको छैन। व्यावहारिक शिक्षाको लागि सर्वप्रथम सरकारी नीति आवश्यक छ। जुन नीति कडाइका साथ लागू होस्।

शिक्षाविनाको मानव त कल्पना पनि गर्न सकिँदैन। सबैको एउटै लक्ष्य ज्ञान लिने, सिक्ने, बुझ्ने र भविष्यमा आफ्नो ज्ञानको प्रयोग गरी समृद्ध राष्ट्र निर्माणको अभियानमा जुट्ने नै हो। दिनानुदिन हाम्रो शिक्षा व्यावहारिक भन्दा सैद्धान्तिक बढी भएको छ।

यद्यपि शिक्षाको सैद्धान्तिक पद्धतिलाई परिमार्जन गर्न अति आवश्यक छ। तसर्थ पढेका कुराहरूलाई व्यवहारमा उतार्ने र समय अनुकूल रोजगारमूलक शिक्षा हुने हो भने पक्कै पनि शिक्षाको उपलब्धि अर्थपूर्ण मानिन्छ। त्यसका लागि सरकारले शिक्षा नीति फराकिलो बनाउन अत्यन्तै जरुरी देखिन्छ।

– संविधान पौडेल,
बूढानीलकण्ठ, काठमाडौं।

प्रतिक्रिया दिनुहोस्