तामाकोशीको फोहोर नियन्त्रण गरियोस् 



दोलखाको सिंगटी बजार क्षेत्र भएर बग्ने तामाकोशी नदी किनारमा अस्पताल तथा फार्मेसीबाट निस्किएको औषधिजन्य फोहोर जथाभावी फालिएको समाचारले दुखित तुल्यायो।

हिमालबाट आएको कन्चन पानीमा यसरी औषधिजन्य फोहोर फाल्दा नदीको पानी प्रदूषित भई मानव जीवनमै गम्भीर असर पर्नेछ। सिंगटी खोला र तामाकोशी नदी मिसिने दोभानको बगरमा अस्पताल तथा फार्मेसीबाट निस्कने सुई, ग्लोब्स, प्याड, स्लाइनपानीका बोतलजस्ता फोहोर जथाभावी फालिने गरेको समाचारमा समाहित गरिएको तस्वीरले नै पुष्टि गर्दछ।

यस्ता क्रियाकलापले स्थानीयहरूलाई त स्वास्थ्य समस्या निम्त्याउँछ नै, साथै पर्यटन वर्ष २०२० लाई नै नराम्रो असर पर्छ। त्यहाँ आउने पर्यटकले प्रदूषणयुक्त सिँगटी भनी सन्देश प्रवाह गरे भने सिँगटी मात्र नभएर सुन्दर दोलखाको नै बदनाम हुन पुग्छ।

सिंगटी खोलामा दैनिक माछा मार्ने र उक्त माछा स्थानीयसँगै धेरै पर्यटकले समेत खाने भएकोले त्यसबाट समेत मानवजीवनमा गम्भीर असर पर्ने सरोकारवालाले चिन्ता गरेका छन्।

व्यवसायीहरूले आफ्नो व्यवसायबाट निस्कने फोहोरलाई सोझै नदीकिनारमा नफाली उचित ढंगले त्यसको व्यवस्थापन गर्नु अपरिहार्य छ। औषधिजन्य फोहोरले गम्भीर असर गर्ने भएकोले अस्पताल तथा फार्मेसी सञ्चालकले पनि दीर्घकालीनरूपमा फोहोर व्यवस्थापन गर्नु जरुरी छ।

दोभानका प्रभावित गाउँपालिकाहरूले समेत यस विषयमा गम्भीर हुनुपर्दछ। बिगु गाउँपालिका र लामिडाँडा गाउँपालिकामा पर्ने सिँगटीमा ३ वटा फार्मेसी, एउटा सामुदायिक अस्पताल र एक प्राथमिक स्वास्थ्य केन्द्र रहेको बुझिएको छ।

यस्ता संस्थाबाट निस्कने फोहोर अन्य फोहोरको तुलनामा बढी खतरनाक भएकाले सोझै नदीमा फाल्दा यसले बढी नै समस्या निम्त्याउँछ। यसले जलचरमा समेत असर गर्ने हुन्छ। त्यसैले यसको नियन्त्रणका लागि स्थानीय प्रशासन र स्थानीय सरकारले समेत तुरुन्तै ध्यान देओस्।

– सागर क्षत्री, दोलखा,
हाल ः काठमाडौं।

प्रतिक्रिया दिनुहोस्