प्रधानमन्त्रीको स्वास्थ्य अवस्था



प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाका विषयले मुलुक तरंगित छ। एक दशकअघि मिर्गौला प्रत्यारोपण गर्नुभएका ओली पछिल्लो साता निश्चय केही गम्भीर हुनुहुन्छ।

यद्यपि प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणको एक दशक रोगलाई जितेरै पार्टी र मुलुकको राजनीतिमा स्थापित हुनुभएको छ। अहिले उहाँको स्वास्थ्य अवस्थाका बारेमा नकारात्मक टिप्पणी र सतही अनुमान धेरै पहिलेदेखि हुने गरेको थियो।

मुलुकको कार्यकारीको बागडोर सम्हालेपछि त्यसको मात्रा उल्लेख्य बढेको छ। अहिलेको समाज र प्रधानमन्त्रीको हैसियतमा यो अकल्पनीय र अस्वाभाविक पनि होइन। प्रधानमन्त्रीको स्वास्थ्य ठीक हुने कुरा र यसबारे यथार्थ जानकारी पाउने नागरिक अधिकारलाई हल्का आँकलन पनि गर्नुहुँदैन।

प्रधानमन्त्रीको अस्वस्थताको विषयसँगै पछिल्लो समय बहस पनि जन्मिएको छ। प्रधानमन्त्री भएका हिसाबले स्वास्थ्य कति चुस्त र कति संवेदनशील या कामयावी अवस्थामा भए/नभएको कुरा जनतालाई थाहा दिनुपर्छ।

तर, सामान्य नागरिकका हकमा पनि लागू हुने व्यक्तिको गोपनीयता, संवेदनशीलताका बारेमा पनि उत्तिकै सचेत र सतर्कता राख्नु जरुरी हुन्छ। यो साता प्रधानमन्त्री अस्वस्थ भएर ग्रान्डी अस्पताल गएपछि यथार्थ सूचना लुकाउन खोजिएको समाचार सार्वजनिक भयो।

अहिले कुनै पनि सार्वजनिक सूचना लुकाएर लुक्ने सम्भावना शायदै हुन्छ। मिर्गौला प्रत्यारोपण गर्नुभएको ओलीको स्वास्थ्य संवेदनशील अवस्थामा छ। यस्तो अवस्थामा सबैले उपलब्ध र पहुँचभित्रको उत्तम उपचार गराउँछन्। यो अस्वाभाविक होइन।

प्रधानमन्त्री ओलीले ग्रान्डी अस्पतालमा उपचार गराउनु पनि यस्तै सामान्य र स्वाभाविक घटना हो। फेरि प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सार्वजनिक चासोको विषय हो। बरु यसमा विशिष्ट व्यक्तिहरूको स्वास्थ्य अवस्थाका सम्बन्धमा कस्तो सूचना, कसरी, कहिले र कसले दिने भन्ने विषयको कार्यविधि प्रस्ट नभए त्यसलाई स्पष्ट बनाउनुपर्छ।

नियमित उपचार गराउँदैमा प्रधानमन्त्री ओली आफ्नो कार्यसम्पादन गर्न असमर्थ छन् वा हुन्छन् भन्ने पक्कै पनि हैन। मात्रामा फरक मात्र हो। विगत १२ वर्षदेखि नै उनले उपचार त गराउँदै आएका छन्। सूचना लुकाउन खोजे बरु जनतामा त्यस्तो सन्देश जान सक्नेतर्फ सचेतता आवश्यक छ।

कुनै सामान्य सघंसंस्थाको नेतृत्व गर्ने व्यक्ति त निरोगी हुनुपर्छ भने मुलुक हाँक्ने व्यक्ति निःसन्देह स्वस्थ हुनुपर्छ। यसमा दुई मत छैन। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ हुनुहुन्छ भन्नेमा बेखबर शायदै नेपाली नागरिक होलान्।

उहाँ स्वस्थ भए मात्र देश गतिशील दिशामा अघि बढ्न सक्छ। तर, प्रधानमन्त्रीको स्वास्थ्य आज जुन अवस्थामा छ, त्यसको पृष्ठभूमि र कारकहरू केलाउन भने बिर्सनु हुन्न।

पञ्चायतदेखि प्रजातन्त्र, प्रजातन्त्रदेखि लोकतन्त्र–गणतन्त्र स्थापना गर्न प्रधानमन्त्री ओलीले निर्वाह गरेको भूमिका, जेलजीवनलगायतका भोगाइ, त्याग र समर्पणको इतिहास पनि स्मरण गर्नुपर्छ। स्वास्थ्यजस्तो संवेदनशील विषयलाई कसैले पनि मजाकको विषय बनाउने अवस्था कदापि सिर्जना गर्नुहुँदैन।

– माधव विक, पाँगा दोबाटो, कीर्तिपुर।

प्रतिक्रिया दिनुहोस्