भिजिट नेपाललाई सघाउन सांस्कृतिक कार्यक्रम



भिजिट नेपाल २०२० लाई सफल पाराँै भन्ने नाराका साथ नेपाल दृष्टिविहीन टेबुलटेनिस संघ र डीएआर म्युजिक एन्ड फिल्म्स् प्रालिको आयोजनामा बुधबार राजधानीमा डीएआर साँस्कृतिक साझ २०७६ सम्पन्न भएको छ।

कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा करिब ३ घण्टासम्म सञ्चालित कार्यक्रममा दृष्टिविहीन कलाकारका साथ अन्य कलाकारले विभिन्न प्रस्तुति प्रस्तुत गरेका थिए।

दृष्टिविहीनका साथ अन्य वाद्यवादकले उकाली ओरालीहरुमा बोलेका गीतको धुन प्रस्तुत गर्दै शुरु गरेको कार्यक्रममा नेपाल दृष्टिविहीन टेबुल टेनिस संघका अध्यक्ष दीपक कोइरालाले कार्यक्रम बारे प्रकाश पर्दै अपांगता भएका व्यक्तिको अपांगताभन्दा पनि उनीहरुको क्षमतालाई चिन्न सक्नुपर्ने चर्चा गर्दै दृष्टिविहीनका साथै अन्य व्यक्तिको योग्यता र क्षमता प्रदर्शन गर्दै मनोरञ्जन दिनका खातिर कार्यक्रम आयोजना गरिएको बताए।

कार्यक्रममा गायक गायिका कुमार पौडेल, डीपी निरेशा, शान्ती राई, सृजना तामाङ, अरुणा लामा र किशोरा अर्यालले स्वदेश गान सिंगो देशमा बाँच्न पाउँ प्रस्तुत गर्दा दर्शक भावुक भए।

त्यसै गरी गायिका किशोरा अर्यालले बतासले उडाइ लग्यो, सृजना तामाङले हुँदाको सबै आफ्नो नहुँदा कोही न कोही, आशा लामाले ज्ञानमाला बोलको गीत एकल रुपमा प्रस्तुत गर्दा कुमार पौडेलले पैसा होइन पासो बोलको गीत गाएका थिए।

रमाइलो प्रस्तुतिका साथ अघि बढेको कार्यक्रममा विद्यामठ आवसीय विद्यालय जोरपाटीकी छात्रा अपेको तामाङले विश्व सुन्दरी बोलको गीतमा नृत्य प्रस्तुत गरेकी थिइन् भने आकाश दीप कलेज दक्षिण ढोकाका विद्यार्थीले पनि नृत्य प्रस्तुत गरेका थिए।

पुजा क्षेत्रीले बेली डान्स गरेकी थिइन् भने विश्व शिक्षा सदन मैजुवहालका विद्यार्थीले प्रत्यक्ष नृत्य प्रस्तुत गरेर कार्यक्रमलाई थप रोचक बनाएका थिए। कार्यक्रममा अतिथि कलाकारहरु भोजराज काफ्ले, सुवोध गौतम, रवीमान डंगोल ‘बेमान’, रमेश प्रसाईंलगायतले आफ्ना प्रस्तुति दिएका थिए। कार्यक्रममा आशा लामाको अडियो एल्बम चुरा पोते सार्वजनिक गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्