मन्त्रीमण्डल पुनर्गठन उपनिर्वाचनपछि



मधुसूदन रायमाझी, काठमाडौं।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुनर्गठनको गृहकार्य अगाडि बढाएसँगै सरकारमा सहभागी मन्त्रीहरू तनाबमा परेका छन्। विगत ६ महिनादेखि मन्त्रीमण्डल पुनर्गठनको गृहकार्यमा प्रधानमन्त्री लागे पनि स्वास्थ्य उपचार, चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको कारण लम्बिँदै आएको छ।

सरकारको कामलाई प्रभावकारी बनाउने योजनासहित प्रधानमन्त्री ओलीले केही मन्त्रीहरूलाई हटाएर केही नयाँ अनुहार ल्याउन खोज्नुभएको छ। मन्त्रीमण्डल पुनर्गठनको विषयमा सहमति जुटाउनका लागि उहाँले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफू निकटका नेताहरूसँग परामर्श गरिसक्नुभएको छ।

सरकारमा सहभागी भएका मन्त्रीहरू भने पुनर्गठनको गृहकार्यले तनाब झेल्दै आएका छन्। सरकारलाई नै बदनाम गराउने गरी काम गर्ने केही मन्त्रीहरूलाई हटाउनुपर्ने दबाब प्रधानमन्त्री ओलीलाई पार्टीभित्रका नेताहरूले दिएका छन्।

६ महिनादेखि मन्त्रीमण्डल पुनर्गठनको चर्चा शुरू भए पनि प्रधानमन्त्री ओलीले ठोस निर्णय गर्नुभएको छैन।प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई बोलाएर राजीनामा दिनुपर्छ भन्ने संकेत नगर्दा मन्त्री रहने कि नरहने भन्ने दुविधा भएको एक मन्त्रीले बताए।

प्रधानमन्त्री ओलीले केही दिनअघि आफ्नो सचिवालयमा रहेका सल्लाहकारहरूलाई राजीनामा दिन आग्रह गर्नुभएको थियो।नेकपाका सांसद महेश बस्नेतले प्रधानमन्त्री ओली ६ महिनादेखि नै नयाँ गतिका साथ जान चाहे पनि विभिन्न कारणले ढिलाइ हुँदै आएको बताउँदै नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘मन्त्रीमण्डल पुनर्गठन हुनेमा कुनै शंका छैन, केही दिन बंगलादेशको प्रधानमन्त्रीको नेपाल भ्रमणको कारण व्यस्त रहनुहुन्छ, सम्भवतः उपनिर्वाचनलगत्तै मन्त्रीमण्डल पुनर्गठन हुन्छ।’

प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल पुनर्गठनसँगै सभामुखको टुंगो लगाउने गृहकार्य थाल्नुभएको छ। उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराएर मन्त्री बनाउने तयारीमा रहनुभएका उहाँले सकेसम्म पूर्वसभामुख सुवास नेम्वाङलाई नै सभामुख बनाउने योजना अगाडि सार्नुभएको छ।

प्रधानमन्त्री ओली समाजवादी पार्टीबाट सरकारमा सहभागी मन्त्रीसँग सन्तुष्ट हुनुहुन्न। समाजवादी पार्टीले यही कात्तिक ३० र ३१ गते केन्द्रीय समितिको बैठक बोलाएको छ। उक्त बैठकले सरकारमा सहभागी हुने वा नहुने निर्णय लिने बताइएको छ।

संविधान संशोधनको माग सम्बोधन नभएको भन्दै समाजवादी पार्टीभित्र उपेन्द्र यादवलाई सरकारबाट बाहिरिनुपर्ने दबाब बढेको छ। समाजवादी पार्टीबाट सरकारमा उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवसहित तीन जना मन्त्री सहभागी रहेका छन्।

समाजवादी पार्टीले सरकार छोड्ने निर्णय गरेको अवस्थामा थप तीन जना मन्त्री पनि नेकपाबाट थपेर एक साथ मन्त्रीमण्डल पुनर्गठन गर्ने तयारी भएको सचिवालयका एक सदस्यले बताए।

प्रतिक्रिया दिनुहोस्