विद्यालय भवन गाईगोठमा परिणत



वीरबहादुर बम, मुगु।

छायाँनाथ रारा नगरपालिका–१३ लापु गाउँमा रहेको विद्यालय भवन निर्माण कार्य शुरु गरिएको दुई वर्ष बितेको भए पनि अझै छानो छाइएको छैन। श्री नमुना आधारभुत विद्यालय लापुको विद्यालय भवन निर्माण कार्य थालनी गरेको दुई वर्ष पूरा भए पनि छानो नछाउँदा विद्यालय भवन जिर्ण र गाई गोरु बस्ने गोठ भएको हो।

विद्यालय भवन खुल्ला भएकाले चौरमा चर्न गएका गाई, गोरु विद्यालय भवनभित्र जाने बस्ने गर्ने गरेका छन्। जिल्ला शिक्षा समन्वय कार्यालयबाट दुई वर्ष अघि १६ लाखमा भवन निर्माण गर्ने सम्झौता भएअनुसार काम भएको भए पनि दुई वर्ष बितिसक्दा पनि विद्यालय भवन पूर्ण रुपमा निर्माण हुन सकेको छैन।

अहिले विद्यालय वरिपरि झारपात उम्रिएको छ। विद्यालय भवनमा छाडा गाईवस्तु बस्ने गरेका छन्।विद्यालय भवन निमार्ण सम्पन्न नहुँदा कक्षा १ देखि ३ सम्मका विद्यार्थीलाई एकै कोठामा बसेर पढ्नु परेको विद्यार्थीले गुनासो गरेका छन्।

भौगोलिक कठिनाई र समाना ढुवानीमा समस्या भएको र सामान ढुवानीको जिम्मा लिएकाले समयमै समान ढुवानी नगरिदिँदा विद्यालय भवन पूर्ण निर्माण हुन नसकेको श्री नमुना आधारभूत विद्यालयका प्रधानध्यापक कैलाश बढुवालले बताउनुभयो।

उहाँका अनुसार सामान तराईबाट ल्याउनुपर्ने भएकाले कहिले सडक बन्दको समस्या कहिले अन्य समस्याले सामान ढुवानी नहुँदा विद्यालय भवन निर्माण हुन नसकेको हो।

सामान सदरमुकाम गमगढीमा आइपुगेकाले अबको एक महिनाभित्र विद्यालय निर्माणको कार्य सम्पन्न गर्ने प्रधानध्यापक बढुवालले जानकारी दिनुभयो।यसैबीच श्री नमुना आधारभुत विद्यालय लापुमा एक शिक्षकको भरमा विद्यालय सञ्चालित छ।

कक्षा १ देखि ३ सम्म पढाइ सञ्चालन हुने नमुना आधारभुत विद्यालय एक जना शिक्षकले पठनपाठन गराउँदै आउनुभएको छ। शिक्षक काम विशेषले बाहिर जाँदा विद्यालय बन्द गर्नुको विकल्प नभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुपसिहं कामीले बताउनुभयो।

शिक्षक दरबन्दीका लागि धरै ठाउँमा पहल गरेको भए पनि सुनुवाइ नभएको अध्यक्ष कामीको गुनासो छ। २०६१ सालमा स्थापना भएको विद्यालयमा शिक्षकलाई समुदायले राहत शिक्षकबाट तलब खुवाउँदै आएका भए पनि यो आर्थिक वर्षबाट छायाँनाथ रारा नगरपालिकाले उक्त शिक्षकलाई दरबन्धीमा राखेपछि समुदायलाई सहज भएको छ।

 

प्रतिक्रिया दिनुहोस्