यूएनआईको अध्यक्षमा धिताल निर्वाचित



काठमाडौं, (नेस)।

मिडिया कर्मचारी युनियन (यूएनआईमी) को केन्द्रीय महाधिवेशनले गोविन्द धितालको अध्यक्षतामा नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित गरेको छ। बुधबार काठमाडौंमा मिडिया कर्मचारी युनियनको महाधिवेशन भएको थियो।

नवनिर्वाचित अध्यक्ष धिताल नेपाल टेलिभिजन कर्मचारी संघको निवर्तमान अध्यक्ष तथा मिडिया कर्मचारी युनियनको महासचिव हुनुहुन्थ्यो। उहाँ यूएनआई एप्रो मी एक्जुकेटिभ कमिटीको सदस्य पनि हुनुहुन्छ।

नयाँ निर्वाचित कार्यसमितिमा रेडियो नेपाल कर्मचारी संघबाट वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षमा कान्तिपुर टेलिभिजन कर्मचारी संघकी अध्यक्ष निर्मला बस्नेत रहेका छन्।

यसै गरी राससका जीवन भण्डारी महासचिवमा निर्वाचित भएका छन। एघार सदस्यीय कार्यसमितिमा फरकफरक मिडिया हाउसबाट प्रतिनिधित्व गर्ने गरी पदाधिकारी र सदस्यहरु निर्वाचित भएका छन्।

यूएनआई एनएलसीका अध्यक्ष शंकरप्रसाद लामिछानेको प्रमुख आतिथ्यमा सम्पन्न महाधिवेशनले नयाँ कार्यसमितिको चयनसँग मिडिया कर्मचारीहरुको सामूहिक हित र सुरक्षाका पक्षमा नयाँ ढंगले अघि बढ्ने गरी विभिन्न निर्णयहरु पनि गरेको छ।

सो अवसरमा यूएनआई नेपालका अध्यक्ष लामिछानेले मिडिया युनियनको भूमिकालाई अझ बलियो बनाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संगठनसँग सहकार्य गर्न सकिने बताउनुभयो।

त्यसै गरी नवनिर्वाचित अध्यक्ष धितालले विभिन्न सञ्चारमाध्यम र सञ्चारगृहमा काम गर्ने पत्रकार र श्रमिकहरुको समस्यालाई पहिचाहन गर्दै देशव्यापी रुपमा संगठनलाई विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

नेपाल टेलिभिजन, रेडियो नेपाललगायतका सञ्चारगृहका विनियमावली श्रमिकको हितविपरीत आएको भन्दै त्यहाँका कर्मचारी संघ संगठनसँग मिलेर यसलाई परिवर्तन गर्न दबाब दिने र सार्वजनिक सेवा प्रसारकसम्बन्धी व्यवस्थामा श्रमिकको भूमिका अनिवार्य रुपमा राख्न दवाव दिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो।

मिडिया कर्मचारी युनियनका निवर्तमान अध्यक्ष राजकुमार थापाले आम सञ्चार क्षेत्रमा काम गर्ने सम्पूर्ण श्रमिकको साझा संगठनको रुपमा यसलाई विस्तार गर्नुपर्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्