आधारभूत शिक्षाबाट वञ्चित लाम्पाटाका बालबालिका



दयाराम पण्डित, बाजुरा । 

हिमाली गाउँपलिका–३ लाम्पाटाका बालबालिका आधारभूत शिक्षाबाट पनि वञ्चित भएका छन्। भोटे जातिको बस्ती रहेको लाम्पाटमा आधारभूत विद्यालय पनि नहुँदा शिक्षाबाट वञ्चित हुनुपरेको हो।

लामपाटाबासी पेमागारा गुरुङ, नर गुरुङ, धार्चे लामा, खडकसिंह गुरुङ, इन्द्र गुरुङलगायत १३ परिवारका २३ बालबालिका आधारभूत शिक्षाबाट वञ्चित भएको स्थानीय छप्पीलाल बुढाले बताउनुभयो।

उनीहरु शिक्षाबाट मात्र हैन, प्राथमिक स्वास्थ्य सुविधाबाट पनि टाढा छन्। चार महिला गर्भिणी छन्। नजिकमा सुलभ स्वास्थ्य सुविधा छैन। केही महिना अगाडि गुम्बाबाट गर्भिणी महिलाको उद्धार गर्न हेलिकोप्टर प्रयोग गरिएको थियो।

‘आफूसँग पहुँच छैन, नेतालाई भन्यो टेर्दैनन्, स्वास्थ्य शिक्षालगायत आधारभूत आवश्यकताबाट लामपाटीबासी वञ्चित छन्’ –बुढाले भन्नुभयो। परम्परागत जडीबुटी संकलन र कृषि पेसा गर्दै आएका जनजाति समुदायसँग बालबालिका पढाउनुपर्छ भन्ने चेतनाको कमी छ।

करिब सात पुस्तादेखि लाम्पाटामा बस्दै आएका भोटे समुदायका मानिस निरक्षर छन्। लाम्पाटाबाट कोटस्थित हिमालभिक्त आधारभूत विद्यालय गुम्बा आउन तिन घण्टा पैदल दुरी हिँड्नुपर्छ। हिउँदमा हिउँले पुरिन्छ, वर्षामा खोलानालाले बाटो अवरुद्ध हुन्छ।

लाम्पाटाबाहेक अन्य ठाउँमा जग्गाजमिन केही नभएको र गाउँमा विद्यालय नहुँदा बालबालिकाले शिक्षाबाट वञ्चित हुनुपरेको हो। ‘हामीलाई जसोतसो नाम लेख्न मात्र आउँछ आफैं पढ्न जान्दैनौं छारोछारीलाई कसरी पढाउनु ?’ –लम्पाटाका इन्द्र गुरुङले दुःखेसो गर्नुभयो।

‘बाजुराको सर्वाधिक विकट लाम्पाटामाथि मानवबस्ती छैन, आफूसँग अन्त जग्गाजमिन पनि छैन। अनुरोध गरे सरकार सुन्दैन। युगौंदेखि पिछडिएका छौं’ –गुम्बाका लालु गुरुङको दुःखेसो छ।

उसो त लाम्पाटावासीको दयनीय अवस्थाबारे जानकारी गराउन गत वैशाखमा हिमाली गाउँपालिकका अध्यक्ष गोबिन्दबहादुर मल्लसहितको टोली लाम्पाटा पुगे। ‘जिल्लामा पनि सम्बद्ध निकायमा जानकारी गराएका छौं, सुनुवाइ कसैबाट भएको छैन’ –स्थानीय लालु गुरुङले भन्नुभयो।

‘लाम्पाटा सर्वाधिक विकट छ। गाउँपालिकाको कार्यालय धुलाचौरबाट लाम्पमटा पुग्न ३ दिनको पैदल बाटो हिँड्नुपर्छ। लाम्पाटामा ९ देखि १३ परिवारको बस्ती छ। बालबालिका त के सबै परिवार अशिक्षित छन्।

नौ परिवारका लागि स्कुल खोल्न सकिने अवस्था छैन’, हिमाली गाउँपालिकाका अध्यक्ष गोबिन्दबहादुर मल्लले भन्नुभयो– ‘त्यही समुदायको कोही शिक्षित भए नाम दिनुस् सहयोगी शिक्षक राखेर भए पनि बालाबालिकालाई पढाउनुपर्छ मैले भनेको छु। सहयोगी शिक्षक भेटिएका छैनन्।’

‘नेपाल साक्षर घोषणा वर्ष २०७६ अनुसार जिल्लामा विभिन्न कार्यक्रम सञ्चालन गरेका छौं। बालवालिका विद्यालय क्षेत्रबाहिर नरहेको संख्या स्थानीय तहले घोषणा गर्नुपर्छ।

तर, जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय बाजुरामा हिमाली गाउँपालिकाका बालबालिका विद्यालय क्षेत्रबाहिर रहे नरहेको कुनै जानकारी आएको छैन’ –जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख गोपालदत्त जोशीले भन्नुभयो।

बाजुराका ९ वटा स्थानीय तहमध्ये बडीमालिका नगरपालिका, खप्तड क्षेडेदह र गौमुल गाउँपािलका मात्र पूर्ण साक्षर भएको जानकारी प्राप्त भएको शिक्षा एकाइ प्रमुख जोशीले भन्नुभयो।

लाम्पाटाका बालबालिका त एक प्रतिनिधि पात्रका रुपमा प्रस्तुत गरिएको हो। बाजुुराको हिमाली भेगमा बसोबास गर्ने बालबालिका आधारभूत शिक्षाबाट वञ्चित छन्। बसाइँसराइँले पनि बालबालिकाको पढाइमा असर भएको छ भने भौगोलिक विकटताकै कारण शिक्षाबाट वञ्चित हुनुपरेको छ।

प्रतिक्रिया दिनुहोस्