कर फछ्र्योट आयोगमा ज्योति ग्रुपको लामो हात



नेपाल समाचारपत्र, काठमाडौं।

पछिल्लो प्रकरणमा पुरानो व्यावसायिक घरानाका रूपमा जनमानसबाट सहानुभूति पाएको ज्योति ग्रुपले सर्वसाधारणबाट उठाइएको करलाई आफ्नो व्यवसाय प्रवद्र्धनका निम्ति प्रयोग गरेको भेटिएको छ।

सामान बिक्री गरेबापत सरकारलाई तिर्नुपर्ने कर पहुँचका भरमा ज्योति ग्रुपले कर छुट गराउँदै आएको छ। ज्योति ग्रुप मातहतका विभिन्न कम्पनीहरूको करोडौं रुपियाँ कर राज्यबाट छुट गराई आफ्नो व्यवसाय विस्तार गर्दै आएको हो।

पछिल्लोपटक विवादास्पद कर फछ्र्योट आयोग २०७१ मार्फत ज्योति ग्रुपले ठूलो मात्रामा कर छुट गराएको तथ्य नेपाल समाचारपत्रले फेला पारेको छ। 

लुम्बध्वज महत, उमेशप्रसाद ढकाल र चूडामणि शर्मा सहभागी रहेको ‘विवादास्पद’ कर फछ्र्योट आयोग २०७१ मार्फत ज्योति ग्रुपले आफ्नो भगिनी कम्पनी स्याकार ट्रेडिङ कम्पनी प्रालिको २७ करोड ३१ लाख ७४ हजार ६९ रुपियाँ र हिमाल आइरन एन्ड स्टिल प्रालिको ३३ करोड ७२ लाख ६८ हजार ९ सय १२ रुपियाँ कर छुट गराएको तथ्य भेटिएको छ।

आफूलाई स्वच्छ व्यवसायी र पुराना औद्योगिक घरानाका रूपमा दाबी गर्ने ज्योति ग्रुपले राज्यलाई करोडौं रुपियाँ नोक्सानमा पारेको माथिल्लो तथ्यांकले पुष्टि गर्दछ।हरेकपटक गठन हुने कर फछ्र्योट आयोगमा ‘सेटिङ’ मिलाएर आफ्ना कम्पनीको कर छुट गराउँदै आएको देखिन्छ।

कर फछ्र्योट आयोग २०७१ अगाडि नारायणराज तिवार अध्यक्ष, लुम्बध्वज महत र दीप बस्नेत सम्मिलित कर फछ्र्योट आयोग २०६३ मा पनि ज्योति ग्रुपले आफू मातहतका कम्पनीका करोडौं रुपियाँ कर छुट गराएको तथ्य भेटिएको छ।

नेपाल समाचारपत्रलाई प्राप्त तथ्यअनुसार हिमाल आइरन एन्ड स्टिल प्रालिको आव २०५६/०५७, २०५७/०५८ को आयकर/मूल्य अभिवृद्धि कर २०६४ साल जेठ ३० गतेको मितिमा फछ्र्योट गराइएको छ।

त्यस्तै ज्योति स्पिनिङ मिल्स बिक्री कर आव २०४८/०४९ को २०६४ जेठ २१ गतेको मितिमा फछ्र्योट गराइएको छ भने सोही मितिमा ज्योति यार्न प्रोसेसिङ कम्पनी आय कर आव २०५४/०५५, २०५५/५६, २०५६/०५७, २०५८/०५९, २०५९/०६०, २०६०/०६१, २०६१/०६२ फछ्र्योट गरिएको छ।

यसरी एउटा औद्योगिक घरानालाई निरन्तर कर छुट दिइरहनुको रहस्य शंकास्पद रहेको विज्ञहरूको भनाइ छ। विभिन्न आर्थिक वर्षको आयकर तथा बिक्रीकरमा एकमुष्ट छुट गराउँदा कम्पनीले बदनियत राखेको देखिने विज्ञहरूले बताएका छन्।

यो पनि……

चर्चित उद्योगपति कारबाही प्रकरण : पदम ज्योतिलाई वारेन्ट रुप ज्योतिलाई खोर

‘सरोगेसी’ले दियो ज्योति परिवारलाई ठूलो धक्का

प्रतिक्रिया दिनुहोस्