कोहलपुरबाट हराएका चार बालकको उद्धार



नेपालगञ्ज ।
एक सातादेखि घरबाट हराएका चारजना बालकको बाँकेको इलाका प्रहरी कार्यालय कोहलपुरले आज उद्धार गरेको छ । गत कात्तिक २० गतेदेखि कोहलपुर नगरपालिकाबाट हराएका १२ वर्षीय प्रकाश बिक, ११ वर्षीय दीपक तिरुवा, १३ वर्षीय श्याम बिक र बिक्की विकलाई फेला पारी आजै घरपरिवारलाई बुझाएको कोहलपुर प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिनुभयो ।

चारैजना बालक हराएपछि उनका परिवारले निवेदन दिने बित्तिकै प्रहरीले खोजी अभियान थालेको थियो । खोजीकै क्रममा उनीहरुलाई भारततर्फ जाँदै गर्दा नेपालगन्ञ्ज—१३ चौलिकामा फेला पारिएको शाहीले बताउनुभयो । केही दिनअघि पनि नेपालगञ्ज–२० बाट हराएका चारजना बालकलाई बर्दियाको जमुनीमा फेला पारी कोहलपुर प्रहरीले उनका आफन्तहरुलाई बुझाएको थियो ।   रासस

प्रतिक्रिया दिनुहोस्