प्रदूषणका कारण विद्यालय बन्द, बाहिर कम निस्कन सुझाव



इरान ।

इरानको राजधानी तेहरानका विद्यालयहरु बन्द गर्न बुधबार निर्देशन दिइएको छ ।

वायु प्रदूषणको अवस्था उच्च भएपछि त्यसले असर पार्ने भएकाले विद्यालयहरु बन्द गर्न निर्देशन दिइएको अधिकारीहरुले जनाएका छन् ।

गभर्नर अनौशिराभन मोहसेनी बान्डपीले पूर्वविद्यालय (किन्नर गार्डन), पूर्व प्राथमिक र प्राथमिक विद्यालयहरु बन्द गर्न निर्देशन दिइएको बताउनुभयो ।

उहाँका अनुसार राजधानी तेहरानसँगै घार्चक, पिश्भा र वारामिनलगायतका शहरका विद्यालयहरु पनि बन्द भएका छन् ।

“तेहरानको वायुको गुणस्तर मापन सूचकाङ्क संवेदनशील समूहका लागि खतरा अवस्थामा पुगेको पाइएको छ,” अर्का एक अधिकारीले भने ।

बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा र रोगी मानिसलाई यस्तो प्रदूषणले बढी असर गर्ने भएकाले सकेसम्म घर बाहिर कम मात्रै निस्कन विज्ञहरुले सुझाव दिएका छन् ।

प्रदूषणका कारण उत्पन्न बाक्लो हुस्सुले तेहरानलाई मङ्गलबार ढाकेपछि बुधबार बिहानैदेखि निकै काम मात्र विद्यालय बस सञ्चालन भएका थिए ।

इरानमा प्रदूषणकै कारण उत्पन्न अनेक समस्या र रोग लागेर हरेक वर्ष ३० हजार इरानी नागरिकको मृत्यु हुनेगरेको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

हरेक वर्षको हिउँदयाममा तेहरानमा प्रदूषणका कारण उत्पन्न हुने असरहरु बढी देखिने गरेको पाइएको छ ।
रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्