भिआइपी हुँ भन्दैमा जेपनि गर्न पाइन्छः मन्त्री भट्टराई



न्युज अफ नेपाल, काठमाडौं ।

संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्री योगेशकुमार भट्टराईले भिआइपीका नाममा कर्मचारीलाई जथाभावी थर्काउन नहुने बताएका छन् ।

बुधबार संसदको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता समितिमा त्रिभुवन विमानस्थल सुधारबारे छलफल गर्न पुगेका मन्त्री भट्टराईले भिआइपीको नाममा कर्मचारीलाई थर्काउने प्रवृत्ति हटाउन भनेका हुन् ।

छलफलमा समितिका धेरै सदस्यहरूले विमानस्थलमा सांसद तथा भिआइपीलाई कर्मचारीले चिन्न नसकेर दुःख दिने गरेको गुनासो राखेपछि मन्त्री भट्टराईले प्रत्युत्तरमा यस्तो बताएका हुन्।

भिआइपीको नाममा पनि मापदण्ड विपरीत गर्न खोज्ने, कर्मचारीलाई धम्क्याउने, जागिर खाइदिन्छु भन्दै थर्काउने प्रवृत्ति देखिएको भन्दै यस्तो नगर्न र भिआइपीले आफ्नो चेतना बढाएमा मात्रै धेरै समस्या समाधान हुने बताए।

पूर्व रक्षामन्त्रीसमेत रहेका कांग्रेस नेता भीमसेनदास प्राधानले विमानस्थलको भिआइपीको भ्यालुु नै नहुने गरी कर्मचारीले रुखो स्वरमा बोलेर मर्यादा नराखिदिएको बताए ।

हामी सांसदको त केही भ्यालु नै हुँदैन, मर्यादा पनि राखिएको देखिँदैन, सर्वसाधरणको अगाडि गिराउने काम गरिएको हुन्छ, प्रधानले भने। प्रधानले जस्तै समान धारणा धेरै सदस्यहरूले राखेका थिए। भिआइपीलाई नै नचिनेर जथाभावी बोल्ने र सुरक्षा जाँच गर्ने गरेको गुनासो उनीहरूको थियो।

मन्त्री भट्टराईले यस्तो विषयलाई प्रतिष्ठासँग नजोड्न पनि आग्रह गरेका छन्। उनले भिआइपी सुरक्षा मापदण्ड अनुसार प्रयोग गर्न पनि आग्रह गरेका छन्। भिआइपी सुरक्षा प्रयोग नगर्दा पनि सानो नभइने पनि मन्त्री भट्टराईको तर्क छ। उनले आफू मन्त्री हुनुभन्दा पहिले त्यस्तो सुविधा नलिएको दाबीसमेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्