आमाका दुबै मृगौला खराब, छोराको मस्तिष्क पक्षघात



न्युज अफ नेपाल,गोर्खा।

गोर्खा बारपाकका मनु घले यतिबेला जिन्दगीका निकै कष्ठपुर्ण दैनिकीहरु धकेलिरहेका छन । श्रीमति र छोरालाइ गम्भिर प्रकृतिका रोगहरुले थला पारेपछि उनीहरुको उपचारको खर्च कसरी जोहो गर्ने भन्ने चिन्ताले मनु पनि थलिएका छन ।

१८ बर्षिया छोरा उमेश घले र ३६ बर्षिया श्रीमति हरिमाया घले भिन्न भिन्नै गम्भिर प्रकृतिका रोगले बेडमै थलिएपछि मनुले आफुले कमाएको सबै सम्पति उनीहरुकै उपचारमा सकाएका छन ।

२०६२ साल बाट छोरालाइ मस्तिष्क पक्षघात र २०७२ साल बाट श्रीमति हरिमायालाइ दुबै मृगौलामा खराबी आएपछि उपचारमा करिब ४५ लाख रुपयाँ सकिएको मनु बताउँछन । श्रीमति हरिमायालाइ मृगौला प्रत्यारोपन गर्न चिकित्सकहरुले सल्लाह दिएका छन ।

दुबै मृगौला खराबी भएपछि दिनदिनै हरिमायाको अवस्था बिग्रदै गएको छ । समयमै उपचार नभए हरिमायाको स्वास्थ्य अवस्थामा दुर्घटना हुनसक्छ । मृगौला प्रत्यारोपनको लागी उनीहरु सग अब न पैसा छ न कोही मृगौला दिने आफन्त नै छन ?

एक दुइ जना आफन्त मृगौला दिन तयार भए पनि प्राबिधिक रुपमा नमिलेपछि झन उनीहरुको परिवार संकटमा परेको छ । पेन्सनमा अबकास प्राप्त पुर्व इण्डीयन लाहुरे मनुले सबै खर्च छोरा र श्रीमति दुबैको उपचारमा खर्चेका गरेका छन ।

उपचारमा गोर्खामा रहेको घर,जग्गा बेचेर उल्टो बैक बाट १२ लाख लोन लिएको बताउछन । एउटा चरणको अप्रेशन गरेको छोरालाइ केही सुधार भएपनि अझै पुर्ण सुधार हुन धेरै पैसा खर्च हुने मनुको भनाइ छ । अहिले सम्म कमाएको सबै सम्पति सकेपनि अझै मनुले हार खाएका छैन ।

काठमाडौको सामाखुसीमा कोठाभाडा लिएर छोरा र श्रीमतिको उपचार गदै आएका मनुको दैनिकी निकै कष्ठपुर्ण छ। छोरा र श्रीमतिलाइ निको बनाएपछि मात्रै मनुको शरिरमा घाम लाग्ने छ ।

दुबै मृगौला खराबिका कारण आफनै स्वास्थ्य सग कडा सर्घष गरिरहेकी हरिमाया आफनै भन्दा पनि छोराको चिन्तामा बढि छिन । आमाको माया कति हुन्छ भन्ने कुरा पनि हरिमायाले छोरालाइ गरेको मायाले पुष्टी गर्छ ।

छोरा पुर्ण स्वस्थ्य भयो भने बाकी जिवन सुखद होला भन्ने हरिमाया र उनका श्रीमानको झिनो आशा छ । कसैले उपचारमा सहयोग गरे आफुहरुले नया जिवन पाउने भन्दै सबैलाइ उपचारमा सहयोग गरिदिन श्रीमति हरिमाया विन्ती गर्छिन । अहिले सम्म कतै बाट सहयोग नपाएका पिडितहरु आगामी दिनमा सहयोग हुन्छ की कतै बाट भन्ने आशामा रहेका छन ।

प्रतिक्रिया दिनुहोस्