नाडालको नम्बर एक स्थान डाँवाडोल



लन्डन, (एजेन्सी)।
लन्डनमा जारी पुरुष टेनिसको प्रतियोगिता एटीपी फाइनल्समा राफाल नाडाल पराजित भएपछि उनको नम्बर एक स्थान डाँवाडोल भएको छ। स्पेनी खेलाडी नाडाल सोमबार राति भएको समूह चरणको खेलमा डिफेन्डिङ च्याम्पियन एलेक्सान्डर ज्वेरेभसँग सिधा सेट ६–२, ६–३ ले हारेका थिए।

पेटको दुःखाले गर्दा नाडाल राउन्ड रोविनको उक्त खेलमा स्वस्थ्य पनि नेदेखिएको जनाएको थियो। नाडाल पराजित भएपछि यही साता हुने विश्व वरियतामा नोभाक जोकोभिच नम्बर एक स्थानमा उक्लिन सक्ने संभावना भएको छ।

सर्बियाका जोकोभिचले गएको आइतबार राउन्ड रोबिनमा आफ्नो पहिलो खेल जितेका थिए। यदि प्रतियोगिता जितेमा र नाडाल सेमिफाइनल नपुगेमा जोकोभिच विश्व नम्बर एक हुनेछन्।

त्यस्तै यदि नाडालले राउन्ड रोविनको अर्को खेल जित्न नसकेमा पनि वर्षको अन्त्य नम्बर एकबाट समाप्त गर्न सकिने छैन। उनले यदि अर्को खेल नजितेकोे स्थितिमा जोकोभिच अर्को खेल जित्नुका साथै नम्बर एक हुने पक्का हुनेछन्।

अघिल्ला ५ खेलमा जर्मन खेलाडी ज्वेरेभसँग नहारेका नाडालले यसपटक भने सोही प्रतिद्वन्द्वीसँग हार बेहोर्नु पर्यो। उनले सेप्टेम्बरमा भएको यूएस ओपनपछि खेलेका प्रतियोगिता पूरा गरेका थिएनन्। उनले सांघाई ओपन र पेरिस ओपन सेमिफाइनलबाटै पेटको चोटले छाडेका थिए।

यो पुरुष टेनिसअन्तर्गत हरेक वर्षको अन्त्यमा शीर्ष आठ खेलाडीबीच प्रतिस्पर्धा हुने ठूलो प्रतियोगिता हो। चार चार खेलाडीको दुई समूहमा विभाजित गरी प्रतिस्पर्धा गराइने सो प्रतियोगितामा हरेक समूहका शीर्ष दुई खेलाडी सेमिफाइनलमा पुग्नेछन्।

तर यो प्रतियोगिता नाडालले कहिल्यै जितेका छैनन्। गत वर्ष उनले खेलेका थिएनन् भने २०१७ मा पहिलो खेलपछि नै प्रतियोगिता परित्याग गरेका थिए।

प्रतिक्रिया दिनुहोस्