साग लक्षित मिडिया वर्कसप शुरू



नेपाल समाचारपत्र, काठमाडौं ।

नजिकिएको १३औं दक्षिण एसियाली खेलकुद (साग) लक्षित दुई दिने मिडिया वर्कसप मंगलबार शुरू भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहकार्यमा नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको मिडिया वर्कसपको युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले उद्घाटन गर्नुभयो।

आसन्न सागका लागि समाचार संकलन र लेखन कार्यलाई सहयोग पुर्याउने उद्देश्यले मिडिया वर्कसप आयोजना गरिएको हो। कार्यक्रमको उद्घाटन गर्दै खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले साग आयोजना सुनिश्चित भएसँगै यसलाई सफल बनाउनु सबैको जिम्मेवारी र दायित्व रहेको बताउनुभयो।

उहाँले निर्धारित समयमै पूर्वाधारलगायतका सम्पूर्ण तयारी सकिने भएकाले सागले भव्यसँग सफल पार्न आ–आफ्नो ठाउँबाट लाग्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले मिडिया वर्कसपले प्रतियोगितालाई भव्य र व्यापक बनाउन सहयोग पुर्याउने धारणा राख्नुभयो।

राखेप सदस्य–सचिव रमेशकुमार सिलवालले सागको तयारीका अधिकांश काम अन्तिम चरणमा पुगेको जानकारी गराउनुभएको थियो।सदस्य सचिवले क्रिकेटमा भारत र पाकिस्तानलाई समेत सहभागी गराउने प्रयास भइरहेको भन्दै प्याराग्लाइडिङको खेलको सहभागिता अन्योल कायमै रहेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्