एमेच्योर चेसमा पाँच खेलाडीको संयुक्त अग्रता



नेपाल समाचारपत्र, काठमाडौं।

जारी मदन भण्डारी मेमोरियल एसियन एमेच्योर चेस च्याम्पियनसिपमा ५ खेलाडीको संयुक्त अग्रता भएपछि रोमाञ्चक मोडमा पुगेको छ।
मंगलबारसम्म पाँचौं चरण समाप्ति हुँदा नेपालका ४ खेलाडीको अग्रता रहेको छ। एक खेलाडी भने भारतका हुन्।

समान ४.५ अंकसहित नेपालका सजिन मर्हजन, रिजेन्द्र राजभण्डारी, प्रकाश नेपाल र कृष्ण थापा तथा भारतका सुमित ग्रोभर शीर्ष स्थानमा रहेका हुन्। चौथो चरणसम्म अग्रता कायम गरेका रिजेन्द्र र सजिनबीचको खेल पाँचौ चरणमा बराबरी भयो।

त्यस्तै प्रकाशले नेपालकै सुरवीर लामा, सुमितले भारतकै सुभम शुक्ला र कृष्णले निकेन कुसाथालाई हराएका छन्। यसैगरी, नेपालका पुरुषोत्तम चौलागाईं र सुश्रुत दाहालको साथमा भारतका आर्नभ कुशहवा, पाकिस्तानका मोहम्मद सहजाद र मलेसियाका इसाक अहुफीजुलको समान चार अंक छ। सुश्रुतले सुरोज मर्हजन, पुरुषोत्तमले काजकस्तानका गब्दुसेभ अमार्न तथा इसाकले आफ्नै देशका ली सोइ हकलाई पराजित गरेका थिए।

त्यस्तै साहजादले इरानका अल्भिर मिर मोहम्मदलाई हराउँदा नेपालका प्रेमकृष्ण महर्जन भारतका युवा खेलाडी आर्नभसँग हार स्वीकार गर्नु पर्यो।
१५ देशका कुल ८४ खेलाडी सहभागी प्रतियोगिता स्वीस लिगको आधारको नौ चरणमा हुने छ।

नेपाल बुद्धीचाल संघ र मदन भण्डारी स्पोर्ट्स एकेडेमीको संयुक्त आयोजनामा सञ्चालित प्रतियोगिता बिहीबारसम्म चल्ने छ। प्रतियोगिताको उपाधि विजेताले १ हजार ५ सय, उपविजेताले १ हजार तथा तेस्रो स्थान प्राप्त गर्ने खेलाडीले ७ सय ५० अमेरिकी डलर पुरस्कार पाउने छन्।

यसैगरी, चौथो र पाँचौंले ५ सय, छैठांैले ४ सय तथा सातौंले ३ सय ५० अमेरिकी डलर पुरस्कार पाउने छन्। आठौंदेखि दशांै हुनेले ३ सय अमेरिकी डलर पुरस्कार पाउने छन्।

तस्वीर :उजोल डंगोल/काठमाडौं

प्रतिक्रिया दिनुहोस्