तामाकोशी नदी किनारमा औषधीजन्य फोहर



चिरञ्जीवी मास्के, दोलखा। 

दोलखाको सिंगटी बजार क्षेत्र भएर बग्ने तामाकोशी नदी किनारमा अस्पताल तथा फार्मेसीबाट निस्किएको औषधीजन्य फोहर जथाभाबी फालिनाले नदीको पानी प्रदुषित बनी मानव जीवनमै गम्भीर असर पर्ने देखिएको छ।

सिंगटी खोला र तामाकोशी नदी मिसिने दोभानको बगरमा अस्पताल तथा फार्मेसीबाट सुई, ग्लोब्स, प्याड, स्लाइनपानीका बोतल जस्ता औषधीजन्य फोहर जथाभाबी फालिने गरेको स्थानीयले गुनासो गरेका छन्।

सिंगटी खोलामा दैनिक माछा मार्ने र उक्त माछा स्थानीयसँगै धेरै पर्यटकले समेत खाने भएकोले त्यसबाट समेत मानव जीवनमा गम्भीर असर पर्ने देखिएको सरोकारवालाले चिन्ता देखाएका छन्।

सिंगटी तथा तामाकोशी नदीको दोभान आसपास बगरमा सुई, ग्लोब्स, प्याड, स्लाइनपानीको बोतल जस्ता औषधीजन्य फोहर जथाभाबी फालिने गरेकोले त्यसले मानव जीवनसँगै माछालगायतका जीवजन्तुलाई गम्भीर असर गर्ने देखिएको दोलखा उद्योग वाणिज्य संघ सिंगटी शाखाका अध्यक्ष महेश श्रेष्ठ बताउनुहुन्छ।

व्यवसायीहरूले आफ्नो व्यवसायबाट निस्कने फोहरलाई नदी किनारमा फाल्ने नभई उचित ढङ्गले त्यसको व्यवस्थापन गर्नुपर्ने अध्यक्ष श्रेष्ठको भनाइ छ। औषधीजन्य फोहरले गम्भीर असर गर्ने भएकोले अस्पताल तथा फार्मेसी सञ्चालकले फोहर व्यवस्थापनलाई महत्वका साथ व्यवस्थापन गर्नुपर्ने अध्यक्ष श्रेष्ठ बताउनुहुन्छ।

नदी किनारमा औषधीजन्य फोहर अत्यधिक देखिएपछि सिंगटीका स्थानीयले स्थलगत निरीक्षण गरी स्थानीय प्रशासनलाई जथाभाबी फोहर फाल्ने संस्था एवं व्यक्तिलाई कारबाहीको लागि ध्यानाकर्षण गराएको अध्यक्ष श्रेष्ठले बताउनुभयो।

वातावरणविद् दिपक केसी औषधीजन्य फोहोर सयौं गुणा खतरनाक भएकोले सोझै नदीमा फाल्दा जलप्रणाली र खाद्यचक्रमै असर पार्ने बताउनुहुन्छ। औषधीजन्य फोहरलाई सामान्य व्यवस्थापनसमेत नगरी सिधै नदी किनार तथा बगरमा फालेको देखिएको उल्लेख गर्दै यसको नियन्त्रणको लागि स्थानीय प्रशासन र स्थानीय सरकारले ध्यान दिनुपर्ने बताउनुहुन्छ।

सदरमुकाम चरिकोटका निजी तथा सरकारी अस्पतालले पनि औषधीजन्य फोहरको व्यवस्थापन उपयुक्त ढङ्गले गर्न नसकेको चरिकोटका स्थानीयको गुनासो छ। निजी तथा सरकारी अस्पतालले औषधीजन्य फोहर व्यवस्थापनको लागि बनाएको खाल्डो बस्ती नजिक मानव जीवन र वातावरणलाई प्रभाव पार्ने खालको रहेको स्थानीय बताउछन्।

विगु गाउँपालिका– ४ सिंगटीमा २ वटा फार्मेसी तथा कालिञ्चोक गाउँपालिका–३ सिंगटीमा रोल्वालिङ सामुदायिक अस्पताल, जीवन फार्मेसी र सरकारी स्तरको एक प्राथमिक स्वास्थ्य केन्द्र रहेका छन्।

दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल नदीमा सोझै औषधीजन्य फोहोर फालिएको बारे जानकारी पाएकोले इलाका प्रशासन कार्यालय र इलाका प्रहरी कार्यालय सिंगटीलाई स्थलगत निरीक्षण गरी जानकारी दिन निर्देशन दिएको बताउनुभयो। नदी प्रदुषित हुने गरी फोहोर फाल्ने जोकोहीलाई कानुनी कारबाही गरिने प्रमुख जिल्ला अधिकारी रिजालले बताउनुभयो।

 

प्रतिक्रिया दिनुहोस्