रोकिएको रानी–धरान ६ लेन सडक सुचारु



सरोज यादव, विराटनगर।

रानी–विराटनगर–इटहरी–धरान सडक अन्तरगत लामो समयदेखि विवादका कारण रोकिएको इटहरीको मुख्यचोक क्षेत्रको काम शुरु भएको छ। विवादका कारण रोकिएको काम स्थानीयवासीकै सहमतिमा सुरु भएको हो।

रानी–विराटनगर–इटहरी–धरान सडकलाई ६ लेन बनाउनका लागि विभिन्न खण्डमा काम भइरहँदा इटहरीको मुख्यचोक क्षेत्रमा विवादका कारण रोएिको थियो। मुख्यबजार क्षेत्रमा रहेका धेरै घरहरू भत्कने भन्दै स्थानीयले विरोध जनाएपछि काम हुन सकिरहेको थिएन्।

तर सोमबार इटहरी चोकबाट उत्तरमा बाटो पश्चिमतर्फको नाला खन्ने काम सुरु गरिएको छ। दुवैतर्फ गरी ६५ मिटर सडक क्षेत्र कायम गर्ने गरी सहमति भएपछि काम शुरु गरिएको हो।

रानी–विराटनगर–इटहरी–धरान सडक योजनाका इञ्जिनियर गौतमकुमार देवका अनुसार इटहरी बजारक्षेत्रका आठ वटा घरको २० देखि २५ सेन्टिमिटर भत्कने अवस्था रहेको भएपनि ठूलो क्षति हुने अवस्था छैन।

सबैको सहमति भएपछि काम सुरु भएको उहाँको भनाईछ। रानी–विराटनगर–इटहरी–धरान ३९ किलोमिटर क्षेत्रमध्ये ३४ किलो मिटरमा काम भई रहेको जनाइएको छ। सो सडक योजनाको काम आगामी असार मसान्तसम्ममा सम्पन्न गरी सक्नुपर्ने भएपनि इटहरीमा सिमा कायम गर्ने कामसमेत हुन् सकेको थिएन्।

सडक विस्तार गर्ने विषयमा सहमति भएर नै काम सुरु भएको उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य तथा स्थानीय व्यवसायी रोहित प्रसाईको भनाइ छ। सडक विस्तारमा अब कुनै विवाद नरहेको भन्दै उहाँले कामलाई तिब्र गतिमा अघि बढाउन आफुले पनि समन्वय गर्ने प्रतिवद्धता जनाउनुभयो।

अन्य व्यापारी तथा स्थानीयबासीले समेत ढिलै भएपनि सडक निर्माणको काम सुरु भएकोमा खुशी व्यक्त गर्दै चाँडो भन्दा चाँडो काम सक्नुपर्नेमा जोड दिएका छन्।

सडक क्षेत्र विस्तार गर्ने क्रममा विद्युत पोल तथा खानेपानीको पाइपसमेत समयमै व्यवस्थित गर्नुपर्ने अवस्था रहेको छ। खानेपानीको धेरै पाइप ६५ मिटर क्षेत्रमै भएको कारणले बढी क्षति पुग्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्