प्राध्यापकका झोलामा काटिएका अंग



मस्को, (एजेन्सी)।

रसियाका एकजना चर्चित इतिहासविद्ले आफ्नो पार्टनरको हत्या गरेको स्विकारेको उनका वकिलहरूले बताएका छन्। ६३ वर्षीया ओलेग साकोलोभलाई एक महिलाको पाखुराहरू राखिएको ब्याकप्याकसहित एउटा नदीमा प्रहरीले नियन्त्रणमा लिएको थियो।

रुसी सरकारी सञ्चार माध्यमले रक्सी पिएर अत्यन्तै मात्तिएको अवस्थामा नदीमा मृतकका अंगहरू बगाउन जाने क्रममा उनी आफै नदीमा खसेको जनाएको छ। त्यसपछि अनुसन्धान अघि बढाउने क्रममा प्राध्यापक सोकोलोभको सेन्ट पिटर्सवर्गस्थित निवासबाट २४ वर्षीया एनास्तासिया एसचेनकोको बाँकी अंग फेला परेको थियो।

फ्रान्सको लेजियन डि ओनेरबाट सम्मानित सोकोलोभ नेपोलियन विशेषज्ञ मानिन्छन्। उनले आफ्नो अपराध स्विकार्दै प्रहरीलाई अनुसन्धानमा सहयोग गर्ने बचन दिएको उनका वकिल अलेक्जान्दर पोचुयेभले बताएका छन्।

उनी विगत तीन वर्षदेखि सेन्ट पिटर्सवर्गको मोइका नदीनजिकको फ्ल्याटमा ती युवतीसँग बस्दै आएकी थिइन्। तिनीहरू दुवै फ्रान्सको इतिहासका विशेषज्ञ रहेको बुझिएको छ। तिनीहरू दुवैले मिलेर सहलेखन पनि गर्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस्