हुवावेले कर्मचारीलाई २ अर्ब युआन बोनस खुवाउने



सेनझेन, (एजेन्सी)।

अमेरिकाले व्यापारमा प्रतिबन्धका बाबजुद चिनियाँटेलिकम कम्पनी हुवावे टेक्नोलोजिजले कम्पनीको प्रगतिमा दत्तचित्त कर्मचारीलाई २ अर्ब युआन अर्थात् २८ करोड ६० लाख अमेरिकी डलर बोनस खुवाउने घोषणा गरेको छ।

विश्वकै सबैभन्दा ठूलो टेलिकम उपकरण निर्माताले अमेरिकी हार्डवेयरको विकल्प खोज्ने प्रयास भइरहेको जनाएको छ। गत मेमा अमेरिकाले उक्त कम्पनीविरुद्ध अमेरिकी फर्महरूसँग व्यापारमा प्रतिबन्ध लगाउँदै प्रमुख पार्टहरूको स्रोतसम्मको पहुँचमा अवरोध पुर्याएको थियो।

उक्त बोनस पैसा अमेरिकी दबाबको सामना गर्दै गरेको कामको उच्च मूल्यांकन स्वरूप प्रदान गर्न लागिएको हुवावेको मानव संसाधन विभागले जारी गरेको सूचनामा उल्लेख गरिएको रोयटर्सले जनाएको छ।

कम्पनीले आफ्ना करिब सबै १ लाख ९० हजार कर्मचारीको यो महिनाको तलब पनि दोब्बर दिने कम्पनीका प्रवक्ताले बताए।अनुसन्धान तथा प्रविधि विकास टोली र अमेरिकाबाट बाहिर कम्पनीको आपूर्ति चेन सार्न काम गर्ने कामदारका लागि पुरस्कार स्वरूप नगद प्रदान गरिने प्रवक्ताले जानकारी दिए।

हुवावेको यस योजनाको विस्तृत जानकारी साउथ चाइना मनिंङ पोस्टले मंगलबार समाचार प्रकाशित गरेको थियो।हुवावेमाथि चिनियाँसरकारसँगको निकट सम्बन्धको कथित आरोपका कारण अमेरिकी सरकारमा धेरैजसोले उक्त कम्पनीको उपकरण विशेष गरी ५–जी नेटवर्कबाट सुरक्षामा खतरा आउन सक्ने विश्वास गर्छन्।

कम्पनीको सञ्चालन प्रक्रियामा चिनियाँसरकारको कुनै प्रकारको भूमिका रहेको कुरालाई हुवावेले अस्वीकार गर्दै आइरहेको छ।अमेरिकाको बहिष्कारबाट कम्पनीले धेरै छुट पाएको भए पनि हुवावेले अमेरिकी उपकरणहरूको विकल्पका लागि काम गरिरहेको छ। सन् २०१७ को पूर्वाद्र्धमा आफ्नो सानो चिनियाँप्रतिद्वन्द्वी जेडटीई अमेरिकी नाकाबन्दीका कारण तहसनहस भएको हुवावेले देखेको छ।

 

प्रतिक्रिया दिनुहोस्