तालिवानी नेताहरूलाई ससर्त रिहा गरिने



काबुल, (एजेन्सी)।

अफगानिस्तानका राष्ट्रपति असरफ घानीले तालिवान लडाकू समूहले बन्धक बनाइराखेको दुईजना व्यक्तिसँग आफ्नो सरकारले बन्दी बनाउँदै आएका तीन तालिवानी लडाकूसँग सट्टापट्टा गर्न लागेको मंगलबार पत्रकारलाई जानकारी दिएका छन्।

सन् २०१६ मा अमेरिकन युनिभर्सिटी अफ अफगानिस्तानमा अध्यापनरत प्राध्यापकद्वय अमेरिकी केभिन किङ र अस्ट्रेलियाली टिमोथीलाई तालिवान समूहले अपहरण गरेको थियो।

तिनीहरूलाई मुक्त गरेबापत सरकारले हक्कानी लडाकू समूहका वरिष्ठ नेता अनास हक्कानी र अन्य दुई वरिष्ठ कमान्डरलाई छाड्न लागेको हो। तर कहिले र कसरी ती कैदीहरू साटासाट हुने हो भन्नेबारे स्पष्ट पारिएको छैन।

सरकारी टेलिभिजनमार्फत सम्बोधन गर्दै घानीले भनेका छन्– ‘तालिवान समूहसँग साक्षात्कार शान्तिवार्ताको वारतावरण बनाउनका लागि सरकारले विश्वविद्यालयका प्राध्यापकहरूसँग सट्टापट्टा गर्न तालीवानी कैदीहरूलाई हिरासत मुक्त गर्ने निर्णय गरेको हो।

तर लामो समयदेखि घानी सरकारसँग वार्ता गर्न अस्वीकार गर्दै आएको तालिवानले भने सरकारको यस घोषणालाई लिएर अझैसम्म कुनै पनि प्रतिक्रिया दिएको छैन।

सन् २०१६ को अगस्टमा अफगानिस्तानको राजधानी काबुलस्थित आफ्नो विश्वविद्यालयमा पढाएर बाहिर निस्केका ती दुई प्राध्यापकलाई बन्दुकधारीहरूको एक समूहले जबरजस्ती एउटा सवारी साधनमा राखेर लगेको थियो।

तिनीहरूलाई पहिलो पटक सन् २०१७ को जनवरीमा एउटा भिडियोमार्फत सार्वजनिक गरिएको थियो। त्यस भिडियोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई तिनीहरूको सकुशल रिहाइका लागि निश्चित सम्झौतामा सहमति जनाउन आह्वान गरिएको थियो।

तिनीहरू दुवैको वास्तविक स्थिति भने अझै स्पष्ट हुन सकेको छैन। तर राष्ट्रपति घानीले भने आफ्नो भाषणमा आतंककारीहरूको नियन्त्रणमा रहने क्रममा तिनीहरूको स्वास्थ स्थिति खस्किएको बताएका छन्। घानीले ससर्त यसरी कैदीहरू मुक्त गर्नु कठिन भए पनि मानवीय दृष्टिकोणले महत्वपूर्ण निर्णय भएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्