सुडाल स्वास्थ्यचौकी भवन उद्घाटन र हस्तान्तरण



पुष्कर बुढाथोकी, भक्तपुर।

चाँगुनारायण नगरपालिका–८ सुडाल, भक्तपुरमा नेपाल रेडक्रस सोसाइटीले भूकम्प प्रतिकार्य कार्यक्रमको आर्थिक सहयोगमा निर्माण गरेको स्वास्थ्यचौकी भवनको उद्घाटन र हस्तान्तरण भएको छ।

प्रदेश नं. ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले भवनको एक कार्यक्रमकाबीच उद्घाटन गर्नुभएको छ। भवनको उद्घाटनपश्चात् नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरका सभापति मनोजकुमार थापाले निर्माण सम्पन्न भवनको साँचो चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रलाई र उहाँले वडा नं. ८ का अध्यक्ष परासर सापकोटालाई हस्तान्तरण गर्नुभएको थियो।

भवन उद्घाटन गर्नुहुदै मन्त्री युवराज दुलालले राम्रो काम गर्नेको प्रशंसा गर्नुपर्ने बताउनुहुँदै नेपाल रेडक्रसका कामहरू प्रशंसनीय रहेको बताउनुभयो। उहाँले प्रदेशभर मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम शुरु गरिएकोमा चालू आर्थिक वर्षमा अतिविपन्न तथा गरिब एक लाख जनताको निःशुल्क स्वास्थ्य परीक्षण गरिने बताउनुभयो।

स्वास्थ्यचौकीको भवनसँगै गुणस्तरीय सेवामा ध्यान दिनुपर्ने र त्यसका लागि जनप्रतिनिधिहरूले पनि सहयोग पुर्याउनुपर्ने जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले बताउनुभयो।

रेडक्रसले जिम्मा लिएर निर्माण भएको स्वास्थ्य चौकीको भवन समयअगाडि नै निर्माण सम्पन्न हुनु ज्यादै खुसीको विषय भएको चाँगुनारायण नगरपालिका प्रमुख सोम मिश्रले बताउनुभयो।

समुदाय र सरोकारवालाको अनुगमन र सहभागिताले समयमै गुणस्तरीय काम भएको बताउँनुहुदै नगरप्रमुख मिश्रले यसबाट पाठ सिकेर समयमै सञ्चालित योजनाहरू सक्नका लागि सरोकारवाला अग्रसर हुनुपर्ने बताउनुभयो।

चाँगुनारायण नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष परासर सापकोटाले स्वास्थ्य चौकीको भवन निर्माणले वडामै पहिलोपल्ट बर्थिङ सेन्टर सञ्चालन गर्न सहज भएको बताउनुहुँदै नेपाल रेडक्रसलाई धन्यवाद व्यक्त गर्नुभयो।

नेपाल रेडक्रस सोसाइटीले २०७२ सालको भूकम्पपश्चात् अतिप्रभावित १४ जिल्लामा एकिकृत पुर्नलाभ कार्यक्रम सञ्चालन गरेको थियो। रेडक्रसले आवास, खानेपानी तथा सरसफाई, स्वास्थ्य, जीवीकोपार्जन, संस्थागत विकासका क्षेत्रमा काम गरेको थियो।

अतिप्रभावित जिल्लामा २७ वटा कर्मचारी बस्ने आवास, बर्थिङ सेन्टरसहितको भवन निर्माण र स्वास्थ्य चौकीका लागि आवश्यक सामग्री सहयोग गरिसकिएको नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेशप्रसाद ढकालले जानकारी दिनुभयो।

रेडक्रसले स्वास्थ्य संस्था निर्माणका लागि फरक–फरक निर्माण कम्पनीलाई जिम्मेवारी दिएकाले समयमै निर्माण सकिएको कार्यकारी निर्देशक ढकालले बताउनुभयो।

ब्रिटिस रेडक्रसको भ्याटसहित १ करोड ५६ लाख ७१ हजार १ सय ९ रुपियाँको आर्थिक सहयोगमा गएको सेप्टेम्बर २०१८ मा सुडाल स्वास्थ्य चौकीको भवन निर्माणको काम शुरु भएकोमा अगस्ट २०१९ मा सम्पन्न भएको थियो।

बर्थिङ सेन्टरका उपकरण तथा फर्निचर खरिदका लागि टेन्डर भएको र टेन्डर प्रक्रिया पूरा भई स्वास्थ्य चौकीमा उपकरण जडान हुन दुई तीन महिना लाग्ने नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरका सभापति मनोजकुमार थापाले बताउनुभयो।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरका मन्त्री परशुराम पाण्डे, सुडाल उपशाखाका सभापति विदुर नेपाललगायतले बोल्नुभएको थियो। साँग दोर्जे निर्माण सेवा प्रालिले स्वास्थ्यचौकी भवन निर्माणको जिम्मेवारी लिएको थियो।

प्रतिक्रिया दिनुहोस्