डा. केसीका माग पूरा गर



डा. गोविन्द केसीको स्वास्थ्य स्थिति गम्भीर बन्दै गएको समाचार पढेपछि केही लेख्न मन लाग्यो। गएको सोमबारदेखि १७ औँ अनशन शुरू गरेका डा. केसीको माग अझै किन सम्बोधन गर्न सरकार पछि हटेको छ।

एक साताअघिदेखि अनशनत डा. केसी निमोनियालगायत समस्याबाट ग्रस्त भएपछि जिल्ला अस्पताल डडेल्धुरामा भर्ना भएका छन्। उनलाई तत्काल आईसीयुमा राखेर उपचार गर्नुपर्ने चिकित्सकहरूले जनाएका छन्।

डा. केसीको जीवन जोखिममा पर्दै गए पनि सरकारले कत्ति पनि चासो देखाएको छैन। सरकारी पक्षले डा. केसीले उठाएका मागहरू पूरा भइसकेको दाबी गर्दै आमसमुदायमा भ्रमको खेती गर्दै आएको छ। नेकपाका नेताहरू जिल्ला–जिल्लामा पुगेर डा. केसीविरुद्ध प्रचारबाजी गरिरहेका छन्।

चिकित्सा शिक्षाको व्यापारीकरण र विकृति बढाउने खालका प्रावधान राखेर संसदीय समितिको बहुमतबाट विधेयक पारित गराएपछि पनि डा. केसी फेरि अनशनमा उत्रिएका हुन्। तर, नेकपाका नेता–कार्यकर्ताहरूले कुनै हालतमा माग पूरा नहुने दाबी गरेर डा. केसीले उठाएका मागको उपेक्षा गरेका छन्।

डा. केसी कुनै स्वार्थ समूहका मानिस होइनन्। जनमानसमा डा. केसीलाई उछालेर केहीले राजनीति गर्न खोजेको दुस्प्रचार पनि नभएका होइनन्। सरकारले जतिसुकै भ्रमको खेती गरे पनि डा. केसीको साथमा ठूलो जनमत छ।

देश–विदेशमा रहने युवादेखि वृद्धवृद्धा, सर्वसाधारण, स्वास्थ्य सेवामा गरिबको पनि पहुँच पुगोस् भनेर चिताउनेहरू डा. केसीको आन्दोलनमा ऐक्यबद्धता जनाइरहेका छन्।

सरकारले डा. केसीसँग भएका सम्झौता विपरीत केही प्रावधान राख्नुका पछाडि नेकपाका नेताहरूको लगानीमा खोलिएका अस्पताल र नेकपाका अध्यक्षद्वयलाई मार्सी चामलको भात खुवाएर चर्चामा आएका झापाका एक व्यवसायीले सञ्चालन गरेको अस्पताललाई मेडिकल कलेज खोल्न दिने नियत रहेको प्रस्टै छ। डा. केसीलाई पेलेरै अगाडि बढ्ने मनस्थितिमा सरकार रहेको यथार्थ पनि कसैसामु छिपेको छैन।

मात्र सवाल नियत र नैतिकताको हो। यति बेला डा. केसीको जीवन धरापमा छ। देशभरबाट उनको जीवनरक्षाको अपिल गरिएको छ। तर, सुन्ने कान नभएको सरकारले चौतर्फी दबाबको सामना नगर्दासम्म सत्याग्रहीप्रति संवेदनशील हुन सकेको छैन।

निश्चय नै डा. केसीप्रति ऐक्यबद्धता जनाउँदै देशभरका डाक्टर तथा नागरिक समाज सडकमा उत्रिनेछन्। त्यस बेला सरकारले सामना गर्न कठिन हुनेछ। सरकारले बेलैमा डा. केसीसँग विगतमा भएका सम्झौता कार्यान्वयन गर्नु उचित देखिन्छ। सरकार गम्भीर बनोस्।

– सुरेन्द्र देउवा, डडेलधुरा।

 

प्रतिक्रिया दिनुहोस्