बाघको आक्रमणबाट दुईको मृत्यु



बाँके, (नेस)।

बाँकेमा पाटे बाघको आक्रमणमा परेर एक महिलाको मृत्यु भएको छ। दुई दिनअघि पनि बाघको आक्रमणबाट अर्की महिलाको मृत्यु भएको थियो।
राप्तीसोनारी–८, बालापुर बस्ने ६० वर्षकी ठगी खड्कालाई घाँस काट्न गएको बेलामा बाघले आक्रमण गरेको हो।

शिवशक्ति सामुदायिक वनको डप्का खोला भन्ने ठाउँमा मंगलबार बिहान खड्कालाई बाघले आक्रमण गरेको थियो। बाघले खड्काको छातीको भाग खाइदिएको छ। बिहान नौ बजे घाँस काट्न गएकी खड्का धेरैबेरसम्म घरमा नआएपछि खोज्दै जाँदा मृत अवस्थामा भेटिएको हो।

गएको आइतबार कोहलपुर–१३, नयाँबस्तीमा बाघको आक्रमणबाट ७५ वर्षकी काली बस्नेतको मृत्यु भएको थियो। मनकामना मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएको बेलामा बस्नेतलाई बाघले आक्रमण गरेको थियो।

बाघ संरक्षणका लागि स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढ्दै गएपछि घाँसदाउरा गर्न जंगलमा जानेको ज्यान जोखिममा परेको छ। बाँके राष्ट्रिय निकुञ्जमा २१ वटा बाघ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्