बंगलादेशका राष्ट्राध्यक्षबाट नेपालको दोस्रो भ्रमण : आज उच्चस्तरीय भेटवार्ता हुँदै



नेपाल समाचारपत्र, काठमाडौं।

नेपाल भ्रमणमा रहनुभएका बंगलादेशका राष्ट्रपति अब्दुल हमिद नेपालका ऐतिहासिक स्थलको भ्रमण र भेटवार्तामा व्यस्त हुन थाल्नुभएको छ।नेपाल आएलगत्तै मंगलबार दिउँसो भक्तपुर दरबार क्षेत्रको अवलोकन गर्न पुग्नुभएका उहाँले साँझ परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ।

भेटवार्ता नेपाल–बंगलादेशबीचको आपसी सहयोग र द्विपक्षीय हितका विषयमा केन्द्रित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।हमिद आज बुधबार दिनभर उच्चस्तरीय भेटवार्तामा व्यस्त रहनुहुनेछ।

नेपाली समकक्षी विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, नेपाल कम्युनस्टि पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग उहाँले छुट्टाछुट्टै भेटवार्ता गर्दै हुनुहुन्छ।

दुवै राष्ट्रपतिबीच शीतलनिवासमा नेपाल–बंगलादेशबीचका सहकार्य र द्विपक्षीय मुद्दामा छलफल हुने बताइएको छ। विगत तीन दशकको अन्तरमा बंगलादेशका राष्ट्राध्यक्षबाट भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो।

यसअघि सो मुलुकका तत्कालीन राष्ट्रपति हुसेन मोहम्मद अर्सदले २०४५ असोज १६ मा नेपाल भ्रमण गर्नुभएको थियो। उहाँ तत्कालीन राजा वीरेन्द्रको निमन्त्रणमा एक दिने भ्रमणका लागि नेपाल आउनुभएको थियो।

नेपालको पूर्वीसीमा काँकडभिट्टाबाट ३० किमीको दूरीमा रहेको सो मुलुकसँगको व्यापारिक र अन्य सहकार्य पर्याप्त नभएको अवस्थामा हमिदको भ्रमणले द्विपक्षीय सहकार्यलाई फराकिलो बनाउने अपेक्षा गरिएको छ।दुवै मुलुक सार्क, विमस्टेक र बीबीआईएनजस्ता क्षेत्रीय र उपक्षेत्रीय संगठनमा आबद्ध छन्।

बंगलादेश, भुटान, भारत र नेपाल आबद्ध बीबीआईएन उपक्षेत्रीय संगठन सडक सञ्जाल र जनस्तरको सम्बन्धलाई निकट बनाउने अवधारणा हो। चार मुलुकबीच चार वर्षअघि भुटानमा मोटर भेइकल एग्रिमेन्ट भएको थियो।

तत्कालका लागि भुटान यो अवधारणामा सामेल हुन आनाकानी गरिरहेका बेला बाँकी तीन मुलुकले यस्तो सहकार्य अघि बढाउन सक्ने र सो वातावरण बनाउन राष्ट्रपति हमिदको भ्रमण महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

बंगलादेशले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्ने र नेपालको ऊर्जा आफ्नो मुलुकले खरिद गर्ने गरी गत साउन २५ गते ऊर्जा सहकार्यको विषयमा मन्त्रीस्तरीय समझदारी भइसकेको छ।

यसका लागि प्राविधिक समिति पनि गठन भइसकेको छ। बंगलादेशमा ऊर्जाको माग बढिरहेको अवस्थामा दुवै मुलुकबीच अहिले कायम भारतको प्रसारण लाइन प्रयोग गरेर विद्युत् निर्यात गर्ने सहमति भएको छ।

यसअघि मंगलबार दिउँसो राष्ट्रपति भण्डारीले हमिदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो भने नेपाली सेनाको टुकडीले उहाँको सम्मानमा सम्मान गारथ दिएको थियो। विमानस्थलको विशिष्ट कक्षमा हमिदसहितको टोलीको सम्मानमा सांस्कृतिक झाँकी, गीतसंगीत र नृत्य प्रस्तुत गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्