क्यासिनो किङ बलेसहित २५ जुवाडे पुनः पक्राउ



नेपाल समाचारपत्र, काठमाडौं।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले क्यासिनो किङ भनेर चिनिने बलराम सापकोटा बलेसहित २५ जनालाई सोमबार बेलुका धरौटीमा रिहा गरे पनि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नियन्त्रणमा लिएको छ।

जुवा खेल्ने क्रममा अस्वाभाविक रकम भेटिएकाले उक्त रकमको स्रोतको अनुसन्धान गर्नुपर्ने भएकाले उनीहरूलाई नियन्त्रणमा लिनुपरेको विभागका एक उच्च स्रोतले बतायो।उनीहरूलाई मंगलबार विशेष अदालतमा म्याद थपका लागि लगिएकोमा उक्त अदालतले २० दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको छ।

कानुनले सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि ९० दिनसम्म थुनामा राख्न हदम्याद दिएको छ। म्याद थपसँगै मंगलबारै विभागले २५ जनाकै चलअचल सम्पत्ति रोक्का राख्न विभिन्न बैंक तथा मालपोत कार्यालयमा पत्राचार गरेको छ।

विभागले म्याद थपका अनुमति पाएसँगै सबैलाई पाटन अस्पतालमा स्वास्थ्यजाँच गरी ललितपुर परिसरलाई थुनामा राख्न जिम्मा दिइएको छ। कात्तिक ९ गते राति महाराजगन्जस्थित एक घरबाट प्रहरीले छापा मारी दुई करोड ६७ लाख नगद र तीनलाख रुपियाँको चेक, ३२ थानकौडा र ४ बुक तास बरामद भएको थियो।

सरकारी वकिलको कार्यालय काठमाडौंले उनीहरूविरुद्ध सोमबारै जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरेको थियो। सरकारी वकिलको कार्यालयले उनीहरूमध्ये १७ जनाविरुद्ध मुलुकी अपराध संहिता–२०७४ को दफा १२५ को उपदफा २ क बमोजिम र ८ जनाविरुद्ध सोहीदफा र उपदफाको ‘ख’ बमोजिमको सजायको मागदाबी गरेको थियो।

सोहीअनुसार जिल्ला प्रशासन कार्यालयले धरौटी खोल्दै पहिलोपटक जुवा खेल्ने वा खेलाउने १७ जनालाई दफा १२५ को उपदफा २ क बमोजिम ३० हजार रुपियाँ जरिवाना र दोस्रोपटक खेल्ने ८ जनालाई ५० हजार जरिवानास्वरूप धरौटी माग गरेको थियो।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्