किसानले उत्पादन गरेको कृषि उपज गाउँपालिकाले खरिद विक्री गर्ने



बुद्ध नेपाली, सिन्धुली ।

सिन्धुलीको सुनकोशी गाउँपालिकाले किसानले उत्पादन गरेको कृषि उपजहरु सोझै खरिद गरी बजारसम्म पुर्याउने भएको छ ।

गाउँपालिकाले सुनकोशी कृषि उपज संकलन केन्द्र स्थापना गरेर गाउँपालिकाभरिका किसानले उत्पादन गरेको कृषि उपज खरिद गरी बजारमा विक्री वितरण गर्ने भएको हो ।

किसानले उत्पादन गरेको तरकारी, फलफुल, अन्नबाली लगाएतका सम्पूृर्ण कृषि उपज संकलनका लागी गाउँपालिकाले भवन निर्माण गरी सुनकोशी कृषि उपज संकलन केन्द्र स्थापना गरेको छ ।

गाउँपालिका र दुई गैरसरकारी संस्थाको साझेदारीमा कुल २६ लाख ९ हजार लागनमा गाउपालिकाले संकलन केन्द्र भवन निर्माण गरेको हो ।

सुनकोशी गाउँपालिकाको १४ लाख ५१ हजार, सामुदायिक विकास कार्यक्रम सिन्धुली र मर्सिकोर नेपालको ११ लाख गरी कुल २६ लाख ९ हजारमा संकलन केन्द्र भवनको निर्माण भएको सुनकोशी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विकास सुन्दासले जानकारी दिनुभयो ।

प्रमुख प्रशासकिय अधिकृत सुन्दासका अनुसार कृषि उपज संकलन केन्द्र संचालनका लागी गाउँपालिकाले संकलन केन्द्र संचालन कार्यविधि नै निर्माण गरेको छ । ‘संकलन केन्द्रलाई सहकारीको मोडेलमा संचालन गर्ने गरी कार्यविधि निर्माण भएको छ ।

सोही कार्यविधि अनुसार त्यसलाई गाउँपालिकाले निश्चित मापदण्ड बनाएर केही बजेट अनुदान दिन्छ । संकलन केन्द्रले सोही अनुदान रकमबाट किसानले उत्पादन गरेको कृषि उपज खरिद गर्छ र बजार सम्म पुर्याउछ’ उहाँले भन्नुभयो ।

उत्पादित फलफुल, तरकारी, अन्नबाली लगाएतका कृषि उपज विक्री वितरणका लागी किसानले बजार खोज्दै हिड्नुपर्ने बाध्यतालाई अन्त्य गर्न संकलन केन्द्र निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष दिपा बोहोरा दाहालले बताउनुभयो ।

उहाँले भन्नुभयो- ‘किसानले अव आफुले उत्पादन गरेको कृषि उपज डोकोमा बोकेर डुलाउदै हिड्नु पर्दैन् । किसानले एउटा काक्रा, एक मुठा साग, एक मुट्ठी खोर्सानी जे उत्पादन गरेपनि त्यो गाउँपालिकाले उचित मूल्य दिएर किन्छ र त्यो उपभोक्तासम्म पुर्याउछ’ ।

सुनकोशीको महाभारत क्षेत्र तरकारी र फलफुल उत्पादनको हिसावले उर्बरभुमि मानिन्छ । सुनकोशीको चिसो हावा पानी भएको महाभारत क्षेत्रमा रहेका नागी, चालिसे, बन्दिपुर लगाएतका ठाँउमा तरकारी र फलफुल प्रसस्तै उत्पादन हुने गरेका छन् ।

तर सडकको राम्रो सुविधा नहुदाँ र बजार अभावले गर्दा गाँउमै थन्किएर बसेका छन् । सुनकोशीमा तोरी पकेट क्षेत्र, आलु पकेट क्षेत्र रहेको छ ।

बाहिरबाट हुने आयातलाई बन्द गर्ने लक्ष्य

सुनकोशी गाउँपालिकामा बाहिरबाट आउने कृषिउपजलाई रोक्ने लक्ष्यका साथ संकलन केन्द्रको निर्माण गरिएको अध्यक्ष दाहालको भनाई छ ।

अहिले तराईका जिल्ला देखि काभ्रेको भकुन्डे, बनेपा, काठमाडौंसम्मको तरकारीहरु सुनकोशीमा भित्रिने गर्छ,उहाँले भन्नुभयो‘ हाम्रो गाउँपालिकालाई आवश्यक कृषि उपजहरु हाम्रै किसान आफैले उत्पादन गर्नसक्छन् ।  किसानले उत्पादन गरेको सामाग्री एक ठाउँमा जम्मा गरेर वितरण गर्दा बाहिरी आयत रोकिन्छ ।’

संकलन केन्द्र संचालनले विचौलीको अन्त्य गर्दै किसाले बास्तविक मूल्य पाउने अध्यक्ष दाहालको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्