ट्रम्पलाई २० लाख डलर जरिवाना



वासिङ्टन, (एजेन्सी)।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि न्युयोर्कको एक अदालतले २० लाख डलर जरिवाना लगाएको छ। ट्रम्प सन् २०१६ मा आफ्नो राष्ट्रपति चुनाव अभियानका लागि कल्याणकारी कोषको पैसा खर्च गरेकोमा दोषी पाइएको थियो।

उनले त्यो पैसा आफ्नो पहिलेदेखि मुनाफामा चलिरहेको कम्पनीको ऋण तिर्न र आफैका लागि पेन्टिङ खरिद गर्न पनि प्रयोग गरेको बताइएको छ। ट्रम्प र उनका वकिलले लामो समयदेखि ती आरोपलाई राजनीतिबाट प्रेरित भएको बताउँदै आएका थिए।

डोनाल्ड ट्रम्पमाथि च्यारिटीको पैसाको दुरूपयोगको आरोप गतवर्ष लगाइएको थियो। अभियोजन पक्षले ट्रम्पले च्यारिटीको प्रयोग आफ्नो चेकबुकजस्तो गरेको आरोप लगाएको थियो।

त्यसपछि उनको च्यारिटी डोनाल्ड जे ट्रम्प फाउन्डेसन बन्द भएको थियो।
न्युयोर्क अदालतका न्यायधीशले फैसलामा ट्रम्पमाथि लगाइएको जरिवाना उनकै च्यारिटीमा जाने उल्लेख गरेको छ तर अहिले त्यो अस्त्विमा छैन।

त्यसैले राष्ट्रपतिले त्यो पैसा ८ फरक फरक च्यारिटीलाई दान गर्नुपर्नेछ।
ट्रम्पको चुनाव अभियानका क्रममा आयोवा प्राइमरी इलेक्सनका लागि अमेरिकाका पूर्वसैनिकले पर्याप्त कोष संकलन गरेको फैसलामा उल्लेख गरिएको छ।

तर ट्रम्पले यसको निजी प्रयोग गरी आफ्नो जिम्मेवारीको उलंघन गरेको जनाइएको छ। न्युयोर्कका न्यायधिवक्ता लेतिसिया जेम्सका अनुसार ट्रम्प फाउन्डेसनका निर्देशक डोनाल्ड ट्रम्प जुनियर, एरिक ट्रम्प र इवान्का ट्रम्पलाई च्यारिटीका अधिकारी तथा निर्देशकलाई आवश्यक तालिम लिनुपर्ने छ।

 

प्रतिक्रिया दिनुहोस्