रुपन्देहीका रुप विश्व च्याम्पियन



यमलाल भुसाल, बुटवल।
रुपन्देहीको तिलोत्तमा नगरपालिका ६ भलवारीका रुप कार्की अन्तर्राष्ट्रिय भारत्तोलन (पावर लिफ्टिङ) प्रतियोगितामा दोस्रो पटक विश्व च्याम्पियन बनेका छन्।
आयरल्यान्डको लाइमेरिकमा चार दिनसम्म सञ्चालित मास्टर–२ प्रतियोगितामा कार्कीले दुई सय बढी देशका करिब ७ सय जना प्रतिस्पर्धीलाई पछाडि पारेर स्वर्ण जितेका हुन्।
२ सय २० पौण्ड तौल समूहमा उनले विश्व च्याम्पियन बन्दै रेकर्ड कायम गरेका हुन्।अमेरिकाको भर्जिनियामा बस्दै आएका कार्कीे सन् २०१७ मा अमेरिकाकै एट्लान्टामा भएको फस्र्ट मास्टर इन्टरनेसनल पावरलिफ्टिङ प्रतियोगितामा विश्व च्याम्पियन बनेका थिए।
कार्कीका अनुसार नेपालको खेल इतिहासमा यो खेलमा स्वर्ण पदक जित्ने उनी पहिलो नेपाली खेलाडी हुन्। उनी अमेरिकास्तरीय प्रतियोगितामा झण्डै दर्जन खेलमा स्वर्णपदक जित्दै च्याम्पियन बनेका छन्।
भारत्तोलन खेलकै लागि दैनिक ३ देखि ५ घण्टासम्म नियमित ब्यायाम गर्ने कार्कीले बताए– ‘म मेरो लागि नभएर नेपाल र नेपालीको पहिचानका लागि खेलिरहेको छु।
खेलको माध्यमबाट नेपाललाई चिनाउन पाएकोमा निकै गर्व लागेको छ। म अमेरिकाबाट फर्केर नेपालमै भारत्तोलनमा सक्रिय हुनेछु।’

प्रतिक्रिया दिनुहोस्