आर्मीले जित्यो हाम्रो गोल्डकपको उपाधि



नेपाल समाचारपत्र, झापा।
विभागीय टोली त्रिभुवन आर्मी क्लब झापाको डोमालाल राजवंशी रंगशालामा आयोजित अन्नपूर्ण हाम्रो अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
सोमबार भएको फाइनल खेलमा काठमाडौंको चर्च ब्वाइज युनाइटेडमाथि २–० को सहज जीत निकाल्दै आर्मी विजेता बनेको हो। टोलीलाई उपाधि दिलाउन कप्तान टेकबहादुर बुढाथोकी नायक सावित भए।
टेकबहादुरले पहिलो र दोस्रो हाफमा एक–एक गोल गरेका हुन्। विजेता आर्मीले नगद १२ लाख ५० हजार तथा उपविजेता चर्च ब्वाइजले नगद ६ लाख २५ हजार पुरस्कार प्राप्त गरे।
खेलको ३२औँ मिनेटमा कप्तान टेकबहादुरले गोल गर्दै अग्रता आर्मीलाई १–० को अग्रता दिलाएका थिए। देब्रे विंगबाट टंक बस्नेतले मिलाइदिएको पासमा चर्चको पेनाल्टी क्षेत्रमा अनमार्क रहेका उनले ग्रास सुट गर्दै गोल गरेका थिए।
त्यस्तै, टेकबहादुरले एक्लो प्रयासमा ८०औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे। चर्चका गोलरक्षक विनय श्रेष्ठसँग वान भर्सेज वानमा बललाई दोस्रो बारतर्फ चिप गर्दै उनले गोलपोस्टको दिशा दिएका थिए।
उनी प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भए।यसै गरी प्रतियोगिताअन्तर्गत् विधातर्फ उत्कृष्ट हुनेमा आर्मीकै वर्चश्व रहेका छन्। गोलरक्षक विवश चौधरी, डिफेन्डर दीपक गुरुङ, फरवार्ड टंक बस्नेत र प्रशिक्षक नवीन न्यौपाने आ–आफ्नो विधामा उत्कृष्ट हुन सफल भए।
त्यस्तै चर्चका अशोक खवास फाइनलका म्यान अफ द म्याच र मिडफिल्डर सुनील खड्का उत्कृष्ट घोषित भए।खेलको अन्त्यतिर दुवै टोली आक्रामक बन्दा कार्डको वर्षा भएको थियो।
८० मिनेटको निर्धारित खेलमा ७ वटा पहेँलो कार्ड देखाइएको थियो। ५८ र ८३औं मिनेटमा दोहोरो पहेँलो कार्ड पाउँदै चर्च ब्वाइजका राजेन्द्र रावल मैदान छाड्न बाध्य भएका थिए। आर्मीका ३ जना खेलाडीले पहेँलो कार्ड पाएका थिए।

प्रतिक्रिया दिनुहोस्