भुटानमा नेपालको विश्वकप खेल हुने



नेपाल समाचारपत्र, काठमाडौं।
नेपाल र कुवेतबीच आगामी मंसिर ३ गते हुने विश्वकप छनोट चरणको खेल भुटानमा हुने तय भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा खेल्नुपर्ने सो खेल अब भुटानको चाङलिमिथाङ रंगशालामा हुने पक्का भयो।
निर्माणाधीन दशरथ रंगशाला एसियाली फुटबल महासंघ (एएफसी) का प्रतिनिधिलाई चित्त नबुझेपछि नेपालले सो खेल आयोजना गर्ने सुन्दर अवसर गुमाएको थियो।
यसपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपालकै मौसमअनुसार रहेको भुटानमा सो खेल आयोजना गर्ने प्रस्ताव राख्यो। जसमा एएफसीले एन्फाको प्रस्ताव मानेपछि नेपालले कुवेतविरुद्धको खेल भुटानमा खेल्ने भएको हो।
एन्फाले सोमबार प्रेस विज्ञप्तिमा जनाएअनुसार भुटानमा खेल गराउन एएफसी र फिफाले स्वीकृत गरेका छन्।तर कुवेतले भने भुटानमा खेल्न अस्वीकार गर्दै आएको थियो।
कुवेतले सकेसम्म खाडी मुलुकमै तटस्थ मैदानमा खेल्ने प्रयास गरेको स्रोतले जनाएको थियो। स्रोतका अनुसार उनीहरूले एएफसीका अध्यक्ष शेख सल्मानलाई भेटेर आफ्नै क्षेत्रमा खेल गराउन कोसिस गरेका थिए।
तर फिफा र एएफसीले नेपालको पक्षमा निर्णय लिएपछि नेपाली खेलाडीले राहत पाएको छ।५ राष्ट्र सम्मिलित एसिया क्षेत्रको सो समूहमा नेपालले ४ अवे खेल खेलेर ३ अंक जोडेको छ।
जसमा नेपालको चिनियाँ ताइपेईमाथिको २–० को एक मात्र जित थियो। जबकि अन्य खेलमा नेपालले कुवेतसँग ७–०, अस्टे«लियासँग ५–० र जोर्डनसँग ३–० को हार बेहोरेको थियो।

प्रतिक्रिया दिनुहोस्