समृद्ध देशका लागि लडिरहन्छु: भट्टराई 



नेपाल समाचारपत्र, पोखरा।
आगामी मंसिर १४ गते कास्की निर्वाचन क्षेत्र नम्बर २ मा हुन गइरहेको संसदीय उप–निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट प्रत्यासी उम्मेदवार विद्या भट्टराई अधिकारीले समृद्ध देशका लागि उद्यमशील युवा बनाउनुपर्ने बताउनुभएको छ।
भट्टराईले समृद्ध नेपाल निर्माणका लागि एक आधारशिला वर्तमान सरकारको लक्ष्य भएको हुँदा सो प्राप्तिका लागि युवालाई उद्यमशील बनाउन र उत्पादनमुखी काममा सरिक बनाउन आफूले विशेष जोडदिने बताउनुभयो।
उहाँले कम्युनिस्ट अग्रगामी हुने हुँदा समाज र राष्ट्रलाई अगाडि बढाउन कम्युनिस्ट पार्टीका प्रतिनिधिले जनचाहनाको उच्च कदर गर्दै आफ्ना कार्यहरू सोही विषयमा केन्द्रित गर्नुपर्ने बताउनुभयो।
भट्टराईले सो विचार आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत पोखरा महानगरपालिका–४ का जनतासँग प्रत्यक्ष भेटपश्चात् आयोजित कोणसभालाई सोमबार सम्बोधन गर्दै बताउनुभएको हो।
विगतको निर्वाचनमा आफ्नो पार्टीले वाचा गरेका प्रतिबद्धता र जनताका आकांक्षा आफ्नो निर्वाचनको केन्द्रविन्दु रहेको भन्दै सोहीअनुसार अघि बढ्ने बताउनुभयो।
जनसहभागिताबिना राजनीतिक भूमिका विस्तार हुन नसक्ने र प्रभावकारी राजनीतिक भूभिकाबिना सभ्य र विकसित समाजको निर्माण हुन नसक्ने भन्दै सबै जनता राजनीतिकरूपमा सचेत भएर जनप्रतिनिधिलाई निरन्तर खबरदारी गर्न आग्रह गर्नुभयो।
यसअघि भट्टराईले सोमबार बिहान सो वडाको नालाको मुखस्थित नेपाली राजनीतिका लौहपुरुष स्व. गणेशमान सिंहको सालिकमा माल्यार्पण गरी उक्त वडाका जनतासँग भेटघाट शुरू गर्नुभएको हो। सयौं नेता, कार्यकर्ताका साथमा जनसाक्षात्कार गर्नुभएकी उम्मेदवार भट्टराईलाई सो वडाका बासिन्दाले निर्वाचनमा दोब्बर मतले निर्वाचित गराउने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्