स्वास्थ्य संस्थालाई सामग्री वितरण



वीरबहादुर बम, मुगु।

मुगुका चारवटै स्थानीय तहअन्तर्गतका विभिन्न १० वटा  स्वास्थ्य संस्थालाई कोरियाली सहयोग नियोग (कोइका)को आर्थिक सहयोगमा युनिसेफ नेपालमार्फत विभिन्न २० प्रकारका प्रसूति उपकरण तथा सामग्री सहयोग गरिएको छ। कोइकाले जिल्लामा रहेका वर्थिङ सेन्टरलाई सुत्केरी गराउन र सुत्केरी भइसकेपछि आवश्यकपर्ने उपकरण तथा सामग्री उपलब्ध गराएका हुन्।
युनिसेफ नेपाल जिल्ला प्रतिनिधि सञ्जयकुमार रजकका अनुसार छायानाथ रारा नगरपालिकाका पिना, ढुंगेधारा र थार्प वर्थिक सेन्टर, मुगुम कार्मारोङ गाउँपालिकाका माग्री, रिउस बगर, मुगु र डोल्फु खत्याड गाउँपालिकाका श्रीकोट, कोटडाँडा र सोरुगाँउपालिकाको नार्थपु वर्थिक सेन्टरलाई प्रतिवर्थिक सेन्टर २ लाख ५० हजार बराबरका उपकरण तथा सामग्री उपलब्ध गराइएको छ।
वितरित उपकरण नेपाली तथा विदेशी प्राविधिकको टोलीले सबै स्वास्थ्य संस्थामा पुगी जडान गरेका छन्। उनीहरूले उपकरण सञ्चालनबारे प्रसूतिमा सरिक रहने एसबीए तालिम प्राप्त कार्यरत एएनएमलाई थप तालिम पनि दिएको स्थानीय साझेदार संस्था कर्णाली सामुदायिक विकास केन्द्र मुगुका कार्यक्रम संयोजक हरिबहादुर शाहीले बताए।
छायानाथ रारा नगरपालिका स्वास्थ्य शाखा प्रमुख पशुपति शाहीका अनुसार उपकर जडानपश्चात् प्रसूति सेवामा आगामी दिनमा सहज हुनेछ। यसअघि उपकरण अभावले स्वास्थ्यकर्मीहरू आफ्नो स्वास्थ्यको पनि ख्यालै नगरी प्रसूति सेवामा संलग्न हुनुपर्ने बाध्यता थियो।
‘पर्याप्त उपकरण नहुँदा नवजात शिशुलाई चिसोबाट बचाउन पनि समस्या थियो’, उनले भने– ‘उपकरण तथा सामग्री सहयोगले स्वास्थ्यकर्मीलाई प्रसूति सेवा दिन सहज हुने भएको र नवजात शिशु पनि सुरक्षित हुने भएका छन्।’

प्रतिक्रिया दिनुहोस्