गीत–संगीतको रोयल्टी पेन्सनसरह गर्न माग 



यमलाल भुसाल, बुटवल।
गीत–संगीत बजाएबापत प्राप्त हुने रोयल्टी कलाकारको पेन्सनसरह हुने हुँदा त्यसलाई थप व्यवस्थित बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।सोमबार बुटवलमा आयोजित प्रतिलिपि अधिकार एवं संगीत रोयल्टी व्यवस्थापन विषयक अन्तरक्रियामा बोल्ने विभिन्न क्षेत्रका व्यक्तिले रोयल्टी कलाकारको भविष्यसँग जोडिएको विषय भएकाले त्यसलाई थप प्रभावकारी बनाउनुपर्ने धारणा राखेका थिए।
अन्तरक्रियामा बोल्दे प्रदेश ५ सरकारका भौतिक पूर्वाधार तथा विकास मन्त्री वैजनाथ चौधरीले गीतसंगीतबाट प्राप्त हुने रोयल्टीले कलाकार सम्मानित ढंगले बाच्नका लागि सघाउ पुर्याउने बताउनु भयो। उहाँले कार्यविधि बनाएर रोयल्टी दिने बानीको विकास गर्नुपर्नेमा जोड दिनुभयो। मन्त्री चौधरीले संगीत रोयल्टी संकलनमा प्रदेश ५ उदाहरण बन्ने प्रतिबद्धता पनि जनाउनुभयो।
त्यस्तै अन्तरक्रियामा बोल्दै प्रदेशसभा सदस्य गीता थापाले कलाकारको सम्मानका लागि आवश्यक कानुन बनाउन प्रदेश सरकार जिम्मेवारीपूर्वक लाग्ने धारणा राख्नुभयो।
नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयका शाखा अधिकृत सुष्मा पोखरेलले बौद्धिक सम्पत्तिका रूपमा रहेको सिर्जनालाई कसैले पनि अवमूल्यन गर्न नहुने बताउनुभयो।
नेपाल लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका निवर्तमान अध्यक्ष चन्द्र शर्माले ३९ क्षेत्रबाट संगीत रोयल्टी पाउनुपर्नेमा मु्स्किलले आधा दर्जन क्षेत्रबाट मात्रै रोयल्टी संकलन हुने गरेको बताउनुभयो।
उहाँले पाउनुपर्ने क्षेत्रबाट रोयल्टी नआउँदा कलाकारको सिर्जनाको सम्मान हुन नसकेको र कलाकार मारमा परेको बताउनुभयो। उहाँले संगीतसम्बन्धी स्पष्ट कानुन बनाउन माग पनि गर्नुभयो।
संगीत तथा चलचित्र उत्पादक समाज नेपालका महासचिव हुम गैरेले रेडियो तथा टेलिभिजनका संस्थाले गर्ने आम्दानीको एक प्रतिशत ेरोयल्टी दिनुपर्ने व्यवस्थालाई कडाइका साथ कार्यान्वय गर्नुपर्ने बताउनुभयो।
पश्चिम नेपाल बस व्यवसायी प्रालिका वरिष्ठ उपाध्यक्ष नारायणप्रसाद घिमिरे, रूपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा, यातयात व्यवस्था कार्यालय बुटवलका प्रमुख मुक्ति पाण्डेलगायतले बोल्दै संगीत स्रष्टाको सम्पत्ति भएकाले त्यसको संरक्षण सबैको दायित्व भएको धारणा राख्नुभएको थियो।
सोही समारोहमा यातयात क्षेत्रबाट सबैभन्दा बढी रोयल्टी संकलन गरेको भन्दै यातायात व्यवस्था कार्यालय बुटवलका प्रमुख मुक्ति पाण्डे र भैरहवाका प्रमुख बोमलाल भण्डारीलाई सम्मानसमेत गरिएको थियो। कार्यक्रम समाजका अध्यक्ष शिव हमालको अध्यक्षतामा भएको थियो।

प्रतिक्रिया दिनुहोस्