रूख काट्न नपाउँदा सडकको काम प्रभावित 



विमल  विष्ट, डोटी।
कैलालीको सहजपुरदेखि डोटीको बडिकेदार गाउँपालिका बर्छैनसम्म जोड्ने बोगटान सडक पिचको कार्यमा ढिलाइ हुँदै आएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले गएको वर्ष फागुन ७ गते उक्त सडक पिचको शिलान्यास गर्नुभएको थियो। प्रधानमन्त्रीले पिचको कार्य शिलान्यास गर्नुभएसँगै उक्त सडक डबल कटिङ र पक्की नालीको निर्माण कार्य अघि बढेको थियो।
नालीको काम सकिए पनि सडक किनारामा भएका रूखहरू कटान गर्ने आदेश नपाउँदा अहिले आएर पिचको काममा ढिलाइ हुन थालेको सडक पिचको ठेक्का पाएको निर्माण कम्पनी पीआरएल–कुमार जेभीका आयोजना सम्पर्क प्रबन्धक ईश्वर बस्नेतले जानकारी दिनुभयो।
उहाँले भन्नुभयो– ‘अन्य काम सकेर हामी पिचको कार्यको थालनीमा छौं तर सडक किनाराका रूखहरू कटान गर्ने आदेश अहिलेसम्म आएको छैन, कसरी तोकिएको समयमा काम सक्ने भन्ने चिन्तामा छौं।’कैलाली चुरे गाउँपालिका–२ मा रहेको वन क्षेत्रमा रूख कटानी आदेश नपाइएका कारण काम ढिलो भएको उहाँको भनाइ छ।
रूख कटानी आदेश नपाए कालोपत्रे नहुँने र फेरि स्थानीयबासीले धूले सडकमै असुरक्षित यात्रा गर्नुपर्ने स्थिति आउन थालेको कैलाली चुरे गाउँपालिका–२ का स्थानीय खेमबहादुर पातलीले बताउनुभयो।उहाँले भन्नुभयो– ‘सडक पिच हुने भयो भनेर हामी खुसी थियौं, रूख नकाटे पिच नहुने रे हामीलाई पो गाह्रो हुने भयो।’
उता सडक पिचको काम तोकिएकै समयमा हुनुपर्ने स्थानीयबासीको माग रहेको छ।पिचको काम आफूहरूबाट ढिलो नभई वातावरणीय प्रभाव मूल्याङ्कनको काम नटुगिँदा काम गर्न ढिलाइ भएको निर्माण कम्पनी पीआरएल–कुमार जेभीका आयोजना सम्पर्क प्रबन्धक बस्नेत दाबी गर्नुहुन्छ।
उहाँ भन्नुहुन्छ– ‘कालोपत्रे हुने ५० किलोमिटरमध्ये ४१ किलोमिटर वन क्षेत्रमा पर्छ, ईआईएको प्रतिवेदन नआएसम्म कटानी आदेश आउँदैन, त्यसैले काम हुन सकिरहेको छैन।’
यतिमात्र नभई पिच हुने सडक किनारामा परेका घर जग्गाको मुआब्जाको विषयका सम्बन्धमा सम्झौतामा कुनै कुरा उल्लेख नभएको तर सडकमा पर्ने घर हटाउनुपर्ने अवस्था रहेको बस्नेतले बताउनुभयो।
उहाँले भन्नुभयो– ‘सडकमा भएका ६० घरमा कसैको सिँढी, कसैको पाली, कसैको आँगन भत्काउनुपर्ने अवस्था छ, यस विषयमा अहिलेसम्म केही भएको छैन, मुआब्जा कसले दिने हो भन्ने पनि जानकारी छैन।’उक्त सडकमा अहिले ३ सय मजदुरले दैनिकरूपमा काम गरिरहेको र फेरी ४ सय मजदुर थप्ने तयारी भइरहेको निर्माण कम्पनीले जनाएको छ।
उक्त सडकको ईआईएको काम छिट्टै टुँगिने सडक सुधार तथा विकास आयोजना अन्तरगतको सहजपुर–बोगटान सडक आयोजना प्रमुख कल्पना अधिकारीले बताउनुभयो। उहाँले भन्नुभयो– ‘ईआईएको काम अन्तिम चरणमा पुगिसकेको छ, अब एक–दुई महिनाभित्रै अन्तिम प्रतिवेदन आइसक्छ।’
मुआब्जाको विषयमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको समितिको बैठक बसेर टुँग्याउने उहाँले जानकारी दिनुभयो। कैलालीको शहजपुरदेखि डोटी बडीकेदारको गाडेबाँजसम्म ५० किलोमिटर सडक कालोपत्रेका लागि ५ डिसेम्बर २०१८ मा पीएलआर–कुमार जेभीसँग सम्झौता भएको थियो।
सम्झौताअनुसार १७ जुन सन् २०२१ मा सात मिटर चौडा कालोपत्रे र कालोपत्रेको दायाँ–बायाँ एक–एक मिटर सोल्जर (ग्रावेल) सडक निर्माण गरिसक्नुपर्ने प्रावधान रहेको छ। एक्जिम बैंक अफ इन्डियाको ऋण सहयोगमा निर्माण हुन लागेको उक्त आयोजनाको सम्झौता रकम एक करोड ९६ लाख ९३ हजार ३ सय १२ अमेरिकी डलर ररूख काट्न नपाउँदा सडकको काम प्रभावित

प्रतिक्रिया दिनुहोस्