पानी १ बोतल छ तिर्खाएका धेरै छन्: डीआईजी शाह



अनिल खत्री, गुल्मी।
प्रदेश नम्बर ५ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुरेशविक्रम शाह सरकारसँग १ बोतल पानी रहेको र तिर्खा लागेका धेरै भएको बताएको छन्। सोमबार गुल्मीको गुल्मीदरबार गाउँपालिका–६ को चारपालामा रहेको नवनिर्मित प्रहरी चौकी भवन उदघाटन गर्दै नायब महानिरीक्षक शाहले आवश्यक दरबन्दीअनुसार प्रहरी नहँुदा धेरै नागरिकलाई कम जनशक्तिबाट सुरक्षा दिनुपरेको बताउनुभयो।
पानी चुहिने छानामुनि जीर्ण भवनमा बसेको प्रहरी अब बलियो घरमा बसेकाले शान्ति सुरक्षा कायम गर्न अझ बढी प्रतिबद्ध हुने बताउनुभयो। शाहले कानुनी राज्यअनुसार जनताको मौलिक हक, नागरिक स्वतन्त्रता, मानव अधिकारको संरक्षण गर्दै आफूलाई हरेक अवस्थामा स्वच्छ र सशक्त प्रहरीका रूपमा प्रस्तुत भइदिन निर्देशन दिनुभयो।
प्रहरीका युनिटअनुसारको दरबन्दी नभएको र सरकार समृद्धितर्फ जाँदै गर्दा सबै पूरा हुँदै जाने नायब महानिरिक्षक शाहको भनाइ छ। प्रहरी नायब महानिरिक्षक शाहाले दरबन्दीअनुसार प्रहरी नहँुदा पनि शान्ति सुरक्षा कायम गर्न प्रतिबद्ध रहेकाले कानुन हातमा लिएर आपराधिक अधिकारी तत्व गर्नेलाई प्रहरीले नछोडने बताउनुभयो।
नागरिकलाई शान्ति सुरक्षा दिने सवालमा नागरिकले अनुभूति गर्ने गरी त्यस ढंगबाट काम गर्न निर्देशन दिए। कार्यक्रममा गुल्मीदरबार गाउँपालिका अध्यक्ष अशोककुमार थापाले भाडाको सानो घरबाट कठिन अवस्थामा पनि प्रहरीले सेवा दिँदै आएकाले नवनिर्मित भवनबाट अझ सहज हुने बताउनुभयो।
उहाँले त्यस स्थानमा द्वन्द्वको समयमा पटक–पटक प्रहरी चौकी आक्रमण परेर युनिट नै यहाँबाट गएको र पुनः स्थानीयले घर बनाएर राखेको बताए। नागरिकलाई सुरक्षा दिन प्रहरी अत्यावश्यक रहेकाले त्यसको महसुसअनुसार यहाँका जनताले नै सानो टहरो बनाएर प्रहरी बस्नको निम्ति सहयोग गरेको बताए।
प्रहरी चौकीसहित सुरक्षा निकायको उपस्थिति हुनुले नागरिकलाई सुरक्षा अनुभूतिमा थप टेवा मिलेको बताए। नागरिकले आफ्ना समस्या प्रहरीसमक्ष राख्ने र शान्ति सुरक्षा मजबुत बनाउनका लागि सहयोग गर्नुपर्ने बताए।
नवनिर्मित भवन नेपाल सरकारको १ करोड २२ लाख ६३ हजार ८ सय ६३ रुपियाँ लागतमा सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक चुरामणि पुनले बताए। २०७५ साल जेठ ६ गते १ वर्षभित्र सम्पन्न गर्ने गरी रेसुङ्गा दर्शन कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालि तम्घास गुल्मीले जिम्मा लिएको थियो।
नव निर्मित भवन बनेसँगै स्थानीयले अब ढुक्कसँग बस्न र शान्ति सुरक्षाको महसुस गर्न पाउनेमा खुसी व्यक्त गरेका छन्। प्रहरी पनि बलियो घरमा बसेकाले स्थानीयले पनि शान्ति सुरक्षाको बलियो महसुस गरेको स्थानीयको भनाइ छ। नवनिर्मित भवनको उद्घाटनमा जिल्लास्थित सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि र स्थानीयको सहभागिता थियो।
जिल्लामा प्रहरी कार्यालयसँगै ‘क’ वर्गका २ वटा इलाका प्रहरी कार्यालय, ‘ख’ वर्गका २ वटा प्रहरी चौकीसहित १३ वटा चौकी र २ वटा अस्थीयी प्रहरी चौकी गरी २० वटा प्रहरी कार्यालय रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। प्रहरी चौकीमध्ये १० वटा चौकीको भवन रहेका छ भने १० वटा चौकी भाडामा छन्। जसमध्ये एउटा प्रहरी चौकी भवन बन्दै छ।

प्रतिक्रिया दिनुहोस्