प्रदेश १ को पाँच जिल्लामा गाँजा फँडानी गरी नष्ट



नेपाल समाचारपत्र, विराटनगर।
प्रदेश नम्बर १ का विभिन्न जिल्लामा अवैधरूपमा लगाएका तथा प्राकृतिकरूपमा आफै उम्रिएका गाँजाका बोटलाई फडानी गरी नष्ट गर्ने कार्य भइरहेको छ। प्रहरीले धनकुटा खोटाङ, भोजपुर, उदयपुर, सुनसरी र इलाम जिल्लाको विभिन्न स्थानमा गाँजाका बोटहरू फडानी गरी नष्ट गरेको छ।
जसमा जिल्ला प्रहरी कार्यालय धनकुटा तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले धनकुटाको शहीदभूमि, साँगुरीगढी र धनकुटाकै आँखिसल्लालगायतका क्षेत्रको करिब २ सय रोपनीभन्दा बढी क्षेत्रफलमा अवैधरूपमा लगाइएका तथा प्राकृतिक रूपमा आफै उम्रिएका १ लाख ५० हजार गाँजाको बोट नष्ट गरिएको हो।
यसैगरी खोटाङको इलाका प्रहरी कार्यालय हलेशी र प्रहरी चौकी च्यास्मिटारबाट खटिएको प्रहरी टोलीले हलेशी तुवाचुङ नगरपालिका–१ र २ का डिकुवा, दाम्ली, र बाँहुनीडाँडालगायतका एरियामा लगाइएका करिब ५ हजार गाँजाका बोट फडानी गरेको छ।
यस्तै जिल्ला प्रहरी कार्यालय भोजपुर तथा इलाका प्रहरी कार्यालय घोडेटार र बोयाङबाट खटिएको प्रहरी टोलीले हतुवागढी गाउँपालिका–९ मुस्ताङ र थुम्की भन्ने स्थानमा अन्दाजी ३२ रोपनी जग्गामा लगाइएको १२ हजार ५ सय बोट गाँजा फडानी गरेको छ भने जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले कटारी तथा ताप्ली गाँउपालिका विभिन्न स्थानमा ४० रोपनी जग्गामा लगाइएको  २५ हजार बोट गाँजा फडानी गरेको छ।
 यसैगरी सुनसरीको इलाका प्रहरी कार्यालय देवानगन्जबाट खटिएको प्रहरी टोलीले सोही गाउँपालिका ६ मा लगाइएका करिब ३ सय गाँजाका बोट नष्ट गरेको छ भने प्रहरी चौकी जितपुर इलामबाट खटिएको प्रहरी टोलीले देउमाई नगरपालिकाका विभिन्न स्थानमा लगाइएका ९० बोट गाँजा नष्ट गरेको छ।
पछिल्लो समयमा अबैध रुपमा गाजा खेती गरेको पाईएकोले १ नम्बर प्रदेश प्रहरी कार्यालयले कार्ययोजना बनाइ सम्बन्धित जिल्लाहरूलाई विशेष अभियान नै सञ्चालन गरेर गाजा फडानी गर्ने निर्देशन दिएको छ।
यससंगै सम्बन्धित जिल्लामा लगाइएका अवैध गाजा खेती तथा आफै उम्रिएका गाजाका बोटहरू प्रहरीले ‘सर्च एन्ड डिस्ट्रोय’ अभियान सञ्चालन गरी गाजा फडानी गर्ने कार्य गर्दै आइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्